बिरालामाथि कुकर्म गर्ने नेपाली ‘सुरक्षागार्ड’लाई आरएम ४० हजार जरिवाना।

शाहआलम (मलेसिया):= मलेसियामा अवैधानिक हैसियतमा कार्यरत एक नेपाली सुरक्षागार्डले विरालामाथि गरेको क्रुरता तथा अशोभनीय कार्य मुद्दामा मलेसियाको सेशन्स अदालतले आज बुधबार आरएम ४० हजार जरिवाना तिर्नुपर्ने सजाय सुनाएको छ।

३३ वर्षीय नेपाली सुरक्षागार्ड अर्मान शाहले अदालतमा उपस्थित भैई आफैं दोषी ठहरिने बयान दिएपछि न्यायाधीश नोर हास्नियाह अब्दुल रजाकले यो सजाय तोकिदिएकी हुन्। अदालतले तोकेको जरिवाना रकम तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेलमा कैद गरिने फैसला सुनाइएको छ। स्थानीय सञ्चार माध्यममा प्रकाशित समाचारमा उल्लेख छ् ।

अदालतमा दर्ज गरिएको अभियोजन अनुसार, घटना गत १५ नोभेम्बर राति १२:३० बजे, कोटा केमुनीङ, शाहआलम सेक्सन ३१ स्थित एक अपार्टमेन्टको चौथो तल्लामा भएको थियो, जहाँ अभियुक्त अर्मानले उक्त जनावर बिरालोमाथि क्रुर यौन दुर्व्यवहार गरेको ठहरिएको छ।

अर्मानको विरुद्ध अभियोगमा मलेसियन कानुन जनावर “Animal Welfare Act 2015 को धारा 29(1)(a)” अन्तर्गत दर्ता गरिएको हो, जसमा ३ वर्ष जेल, आरएम १ लाख रिंगेट सम्मको जरिवाना, वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

अदालतमा वकिल विना उपस्थित अभियुक्त अर्मानले आफू लाई सुनाइएको सजाय घटाइदिन आग्रह गर्दै भने— “म गल्ती गरेको स्वीकार्छु, सजाय कम गरिदिनुहोस्। म नेपाल फर्किन चाहन्छु, मेरी आमा बिरामी छिन्।”

तर, उप–अभियोजक नुरुल सोफेआ जेसल ले अभियुक्तको व्यवहार “अत्यन्तै घिनलाग्दो, क्रूर र सामान्यीकरण गर्न नहुने” भन्दै कडा सजाय माग गरिन्। उनले भनिन्— “यो घटना सार्वजनिक आक्रोशको कारण बनेको छ। समाजमै सन्देश जाने गरी कडा सजाय आवश्यक छ।”

यसअघि, २१ नोभेम्बर मा सोही व्यक्तिलाई अदालतले अर्धनग्न अवस्थामा देखिएको र वैध कागजात विना अवैधानिक हैसियतमा मलेसिया बसोबास र काम गरेको मुद्दामा ४ महिनाको जेल सजाय सुनाएको थियो।