क्वालालम्पुर(मलेसिया):= मलेसियामा शनिबार राति (डिसेम्बर ६ तारिख) अध्यागमन विभाग “इमिग्रेशन”द्वारा सञ्चालन गरिएको संयुक्त धरपकड अपरेसन (Integrated Operation) मा सेलायाङ बारु क्षेत्रबाट १०२ जना नेपालीसहित ८४३ अवैध आप्रवासी कामदार पक्राउ गरिएका छन्। उनीहरूलाई अध्यागमन ऐन अन्तर्गतका विभिन्न अपराधमा संलग्न रहेको शंकामा समातिएको हो।
सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समितिका अध्यक्ष दातुक सेरी अमिरुद्दिन सारी का अनुसार पक्राउ परेकामध्ये ८०८ पुरुष र ३५ महिला छन्, जिन्को उमेर २१ देखि ५३ वर्ष छ। उनीहरू इन्डोनेशिया, बंगलादेश, भारत, म्यान्मार, नेपाल र पाकिस्तानका नागरिक रहेको बताइयो।
अमिरुद्दिनले बताए अनुसार, स्थानिय समुदायबाट विदेशी कामदारको अत्यधिक चाप तथा सडक किनारामा अवैध व्यापार सञ्चालनबारे प्राप्त उजुरीपछि सो अपरेसन गरिएको हो। “अनुगमन र गोप्य सूचनाको आधारमा निरीक्षण गरिएको हो,” उनले भने। यसअघि पनि यस्तै कारबाही सेरी मुडा, सेलाङ्गोर होलसेल मार्केट तथा अन्य क्षेत्रमा गरिएको थियो।

अपरेसनमा इमिग्रेसनका उपमहानिर्देशक (अपरेसन) दातुक लोकमान इफेन्दी राम्ली, सेलाङ्गोर प्रहरी प्रमुख दातुक साहजेली कहार, सेलाङ्गोर इमिग्रेसन निर्देशक खैरुल अमिनुस कामारुद्दिन, तथा विभिन्न निकायका ३५८ सुरक्षा कर्मचारी सहभागी थिए। अपरेसनका क्रममा लागूऔषध दुव्र्यसनको शंकामा दुई स्थानीयलाई पनि पक्राउ गरिएको छ।
समातिएका सबैलाई पहिचान कागजात नभएको, पासको शर्त उल्लङ्घन, म्याद नाघेर बसाइ (overstay), अवैध कार्ड प्रयोग, तथा अन्य इमिग्रेसन अपराधमा संलग्न भएको आशंकामा सेमेनीय इमिग्रेसन डेपो पुर्याइएको छ। सस्तो भाडाले विदेशीहरुलाई सेलायाङ बारु आकर्षित गरेको दाबीबारे मुख्यमन्त्री अमिरुद्दिनले भने, “यो विषय माग तथा आपूर्ति, शहर नजिकको स्थान, व्यापार र रोजगारीको केन्द्र भएको कारणसँग सम्बन्धित छ।”
उनका अनुसार, यसअघि होलसेल मार्केटमा गरिएको अपरेसनले पनि समुदायमा सकारात्मक प्रभाव पारेको छ।मुख्यमन्त्रीले अवैध आप्रवासीमाथि निगरानी र कारबाही निरन्तर चलिरहने बताएका छन्। “यो अभियान इमिग्रेसन ऐन १९५९/६३ पासपोर्ट ऐन १९६६ इमिग्रेसन नियमावली १९६३ तथा Anti-Trafficking in Persons and Anti-Smuggling of Migrants Act २००७ अनुसार सञ्चालन भइरहनेछ,” उनले भने।
अमिरुद्दिनले नियोक्ताहरुलाई वैदेशिक कामदार भर्ना गर्दा कानूनी प्रक्रिया अपनाउन चेतावनी पनि दिएका छन्, अन्यथा व्यवसायमा अवरोध तथा सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने बताएका छन्। – Bernama




















