मलेसियामा स्थापित गैरसरकारी संस्था (NGO) की अध्यक्ष तथा फिलिपिनी घरेलु महिला कामदार पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा एक गैरसरकारी संस्था (NGO) की अध्यक्ष तथा फिलिपिनी घरेलु कामदारलाई आवास अनुमतिपत्रको (पास) दुरुपयोग गरेको आशंकामा गत आइतबार पक्राउ गरिएको छ। क्वालालम्पुर स्थित मलेसियाली अध्यागमन विभाग (इमिग्रेशन) का निर्देशक, वान मोहम्मद साउपी वान युसोफका अनुसार, ५० वर्षको हाराहारीकी ती महिलालाई यहाँको एक अन्तर्राष्ट्रिय विद्यालयमा केही देशबासी साथीहरूसँग भेला भएर भाषण गरिरहेका बेला पक्राउ गरिएको हो।

अध्यागमनले दिइएको जानकारी अनुसार “ती महिला करिब दुई दशकअघि सामाजिक भ्रमण पास (PLS) प्रयोग गरेर मलेसिया प्रवेश गरेकी थिइन् र मलेसियामा बस्नको लागि घरेलु कामदारको श्रेणीमा अस्थायी कामदार भ्रमण पास (PLKS) प्रयोग गर्दै आएकी थिइन्।” “यो पासले विदेशी नागरिकलाई अध्यागमन ऐन १९५९/६३ र अध्यागमन नियम १९६३ का शर्तहरू अनुसार दर्ता गरिएको रोजगारदाताको ठेगानामा मात्र घरेलु कामदारको रूपमा काम गर्न अनुमति दिन्छ, जथाभावी एनजीओ खोल्ने अनुमति छैन” अध्यागमनले भने।

अध्यागमनका निर्देशक वान मोहम्मद साउपी बिन वान युसुफले ती विदेशी नागरिक एक गैरसरकारी संस्थाको अध्यक्ष नियुक्त भएको र औपचारिक संस्थाको काम वा नेताको रूपमा गर्न मिल्ने गतिविधिमा संलग्न भएको जानकारी पाएपछि पक्राउ गरिएको बताए। उनले गैरसरकारी संस्था मलेसियाको संस्था दर्ता विभागमा दर्ता नभएको पनि छानबिनबाट खुलेको बताए।

जाँचबुझबाट ती महिलाले आधिकारिक बैठकहरूमा भाग लिने, कोष सङ्कलनको व्यवस्थापन गर्ने, बाहिरी कार्यक्रमहरूको नेतृत्व गर्ने र उक्त गैरसरकारी संस्थाको अध्यक्षको रूपमा सार्वजनिक बयानहरू जारी गर्ने गरेको पत्ता लाग्यो। “यी गतिविधिहरू घरेलु कामदारको पासका शर्तहरू विपरीत अनाधिकृत रूपमा संस्थागत संलग्नता मानिन्छन्,” उनले थपे।

उनले ती विदेशी नागरिकले अध्यागमन विभागमार्फत आफ्नो पासको शर्तहरू परिवर्तन गर्न वा श्रेणी परिवर्तन गरी व्यावसायिक पासमा सार्नका लागि कहिल्यै आवेदन नदिएको बताए। “यसबाहेक, मलेसियाली सीप विकास विभाग (JPK) ले ती विदेशी नागरिकले जारी गरेका प्रमाणपत्रहरूलाई सरकारी निकायबाट स्वीकृति नभएको पत्ता लगाएको छ,” उनले थपे।