पाहाङ, (मलेसिया):= क्यामेरोन हाइल्यान्ड्समा अध्यागमन विभाग “इमिग्रेशन”द्वारा सञ्चालन गरिएको व्यापक छापामारीको क्रममा विभिन्न अध्यागमन कानुन उल्लङ्घनमा ४६८ जना विदेशी नागरिकलाई पक्राउ गरिएको छ।छापामारीका दौरान एक महिला विदेशी नागरिकले आफ्नो शिशुलाई दूध खुवाइरहेको बेला, एक इमिग्रेशन अधिकारीले निगरानी गरिरहेको दृश्य पनि कैद गरिएको छ।

‘अप्स गेम्पुर’ नामक यो अपरेशनमा ५४७ इमिग्रेशन अधिकारी तथा कर्मचारी सहभागी थिए। अपरेशन शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म क्यामेरोन हाइल्यान्ड्सका चार अलग–अलग क्षेत्रहरू—व्यापारिक क्षेत्र, निर्माणस्थल र तरकारी खेती हुने फार्म क्षेत्रमा—सञ्चालित भएको हो।बर्नामाका अनुसार, छापा मारिएको अधिकांश तरकारी प्याकिङ्ग पसल र गोदामहरूमा विदेशी मजदुर कार्यरत भेटिएका थिए।


छापामारीको समयमा धेरैजसो विदेशी नागरिकहरू तरकारी प्याक गर्न व्यस्त रहेकाले भाग्न पनि सकेनन्। अपरेशनका दौरान १,८८६ व्यक्तिको कागजात जाँच गरियो भने, म्याद सकिएको राहदानी, यात्रा कागजात नभएको लगायतका उल्लङ्घनमा ४६८ विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको इमिग्रेशन विभागले जनाएको छ।



















