यूएईमा ४ महिनाको अवधीमै ९३ नेपालीको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= पछिल्लो चार महिनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा ९३ नेपालीले ज्यान गुमाएका छन्। यूएईको अबुधावीस्थित नेपाली दूतावासका अनुसार २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो।

२०८२ साउनमा ३२, भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जना नेपालीको यूएईमा मृत्यु भएको हो। मृत्यु हुनेहरू सबै वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएकाहरू हुन्।नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो।

गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए। सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन्।