काठमाडौं := नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचारपछि स्वदेश फर्किएलगत्तै राजनीतिक गतिविधिमा सक्रिय बन्नुभएको छ । गत भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा ‘जेन-जी’ प्रदर्शनकारीको कुटपिटबाट गम्भीर घाइते हुनुभएका सभापति देउवा कात्तिक १० गते उपचारका लागि पत्नी डा.आरजु राणा देउवासँगै सिंगापुर जानुभएको थियो।
सिंगापुरमा १८ दिन लामो उपचारपछि शुक्रबार राति स्वदेश फर्किनुभएका देउवा राजनीतिक गतिविधिमा सक्रिय बन्नुभएको हो । उपचारबाट फर्केलगत्तै सभापति देउवाले नेताहरूलाई छलफलमा बोलाउन सुरु गर्नुभएको छ । स्वदेश फर्किएको भोलिपल्ट शनिबार पहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएका सभापति देउवाले त्यसपछि पार्टी प्रवक्तासमेत रहनुभएका आफ्ना विश्वासपात्र डा.प्रकाशशरण महतसँग भेट गर्नुभएको थियो ।
त्यसपछि शनिबार साँझ संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गर्नुभयो । देउवालाई भेट्न चार नेता शनिबार साँझ उहाँको भाडाको निवासमा पुग्नुभएको थियो । महतसहित नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई संयुक्त रूपमा देउवाले भेट्नुभएको हो । देउवाले नेताहरूलाई डाकेर पार्टीको विवादबारे छलफल गरिरहनु भएको छ ।
भेटमा सहभागी पार्टी प्रवक्ता डा. महतले भन्नुभयो, ‘चुनावको तयारी गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीको विवाद तपाईंहरू मिलाउनुस् भन्ने आशय थियो । उहाँको कुरा सुन्दा चुनावपछि नै महाधिवेशन गर्दा उपयुक्त हुने जस्तो लाग्यो ।’ सभापति देउवाले आइतबार पार्टी महामन्त्री विश्वप्रकाश शर्मालाई बोलाएर छलफल गर्नुभएको छ । सभापति देउवा र महामन्त्री शर्माबीच पार्टीमा देखिएको मतभेद हटाउने विषयमा छलफल भएको बताइएको छ ।
कांग्रेसमा चुनावअघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने दुई प्रकारका धारणाहरू आएका छन् । संस्थापन पक्षका शीर्ष नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अडानमा हुनुहुन्छ ।यही विवादका कारण गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठक निष्कर्षमा पुग्न सकेको छैन ।
संस्थापन इतरका नेता डा.शेखर कोइराला चुनावअघि नियमित महाधिवेशनको पक्षमा हुनुहुन्छ । त्यसो त चुनावअघि वा पछि महाधिवेशन गर्नेमा संस्थापन पक्षमा समेत एकमत देखिएको छैन । संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्न माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका छन् ।
आफूनिकट चारजना नेताहरूसँग शनिबार दुई घण्टा बढी कुराकानी गर्नुभएका सभापति देउवाले पार्टी विवादका बारेमा जानकारी लिनुभएका बताइएको छ । सभापति देउवाले पूर्वपदाधिकारी र संस्थापन पक्षका २४ केन्द्रीय सदस्यहरूसँग पनि छुट्टै भेट्ने तयारी गर्नुभएको छ ।




















