काठमाडौं := नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ गठन गरेको घोषणा गर्नुभएको छ । बिहीबार निर्वाचन आयोगमा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले देशका आम नागरिकका माग सम्बोधन गर्न नयाँ दल आवश्यक भएको बताउनु भयो ।
उहाँका अनुसार हालको राजनीतिक अवस्था जनताका पीडा सम्बोधन गर्न असफल रहँदा नयाँ विकल्पको आवश्यकता महसुस भएको हो। ‘जेन-जी आन्दोलनले देशको राजनीतिक अवस्था हल्लाएको छ। ती माग सबै नागरिकका माग हुन्। ती मागलाई नागरिकका तर्फबाट सम्बोधन गर्न हामीले यो पार्टी गठन गरेका हौं,’ चौधरीले भन्नुभयो ।
नयाँ पार्टीको अध्यक्षमा टीकापुरका युवा नेता कविर सोबलाई अघि सारिएको छ। चौधरीका अनुसार सोब टीकापुर घटनाका साक्षी तथा शिक्षित पुस्ताका प्रतिनिधि हुनु हो । त्यसैगरी, पूर्वमन्त्री अब्दुल खानलाई वरिष्ठ उपाध्यक्ष र डा उमाशंकर चौधरीलाई महासचिव बनाइएको छ।
डा चौधरी यसअघि थारु आयोगको नेतृत्व गरिसक्नुभएको छ। रेशम चौधरीले आफ्नो नयाँ दलले देशमा राजनीतिक सुशासन, समानता र समृद्धि ल्याउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीसँग मतभेद भएपछि चौधरीले नयाँ दल स्थापना गर्नुभएको हो ।प्रस्तावित पार्टीको चुनाव चिह्न ‘जाँतो’ राखिएको छ।




















