“लाङ्घाली चुलो” रेष्टुरेन्टको आर्थिक सहयोगमा पीडित मगर मलेसियाबाट स्वदेश फर्किए।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न आएका धादिङ जिल्ला निवासी गणेश मगरलाई स्वास्थ्यमा समस्या भएपछि क्वालालम्पुरमा संचालित “लाङ्घालि चुलो” रेष्टुरेन्टको पहलमा सकुशल नेपाल फर्काइएको छ।

करीब ११ वर्षअघि जोहोरस्थित एक कम्पनीमा काम गर्न मलेसियामा आईपुगेका मगर पछिल्ला केही वर्षदेखि कम्पनी छाडेर अवैधानिक हैसियतमा रहि विभिन्न काम गर्दै आएका थिए। तर, पछिल्ला महिनाहरूमा कलेजोमा समस्या देखिएपछि, उनका आँखा पहेंलो हुने र अनुहारमा बिबिरा देखा पर्ने लक्षण देखिएको थियो।

स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि र आर्थिक समस्या थपिएपछि मगरले आफ्नो घर फर्किन इच्छा व्यक्त गरेका थिए। उनले क्वालालम्पुरस्थित लाङ्घालि चुलोका सञ्चालक मध्यका एक गोकर्ण आले मगरसँग सम्पर्क गरि सहयोगको याचन गरेका थिए।

गणेशको पारिवारिक अवस्था कमजोर रहेकाले लाङ्घालि चुलोले सहयोगका लागि पहल गरेको थियो। सहयोगका क्रममा नेपाली राजदूतावासले नि:शुल्क ट्राभल डकुमेन्ट “एकतर्फी यात्रा अनुमतिपत्र” र अध्यागमन विभागमा जरिवाना रकम तिर्नलाई फिङ्गर गर्ने प्रक्रिया सहज बनाइदिएको थियो भने, लाङ्घालि चुलोले जरिवाना शुल्क आरएम ५२० र हवाइ टिकटको सम्पूर्ण खर्च ब्यवहोरेर सहयोग गरिदिएको हो ।

गणेश मगर अक्टोबर २९ मा नेपाल एयरलाइन्समार्फत काठमाडौं पुगेका छन्। नेपाल पुगेपछि उनले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै भने, “म नेपाल आइपुगेको छु। उपचार गरेर ठिक भएपछि नेपालमै केही गर्ने योजना बनाएको छु। अबदेखि गल्ती वा कमजोरी दोहोर्याउने छैन।”

लाङ्घालि चुलोका अर्का सञ्चालक सदस्य सुन्दर आले मगरले बताएअनुसार निजको परिवारले उनको थप उपचार काठमाडौंमा सुरु गर्ने तयारी गरिरहेको छ । र बिरामीलाई नेपाल फर्काउन अतिवाश्यक रहेको अवस्थाबारे मलेसियामा रहेका नाम चलेकै अन्य संघसंस्थाहरूसँग पनि सम्पर्क गरिएको थियो, तर कुनै जवाफ नआएपछि अन्ततः लाङ्घाली रेष्टुरेन्टलेनै सबै खर्च व्यहोरी उनलाई नेपाल पठाएको हो।

संचालक आलेले भने, “लाङ्घालि चुलोले आफ्नो ब्यापार ब्यावसायसंगै यस भन्दा पहिले अघिल्ला वर्षहरूमा पनि समस्या परेका नेपालीहरूलाई सहयोग गर्दै आएको छ। हामी आगामी दिनमा पनि मलेसियामा समस्यामा परेका नेपालीहरूको सहायता गर्नलाई सदैव तत्पर रहनेछौं।”