काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान)ले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को प्रत्यक्ष प्रसारण उत्पादनका लागि इच्छुक कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ । संघले एक सार्वजनिक सूचना जारी गर्दै योग्य कम्पनीहरूलाई प्रक्रियामा सहभागी हुन अनुरोध गरेको हो ।
सूचनाअनुसार इच्छुक कम्पनीहरूले १० हजार रुपैयाँ (फिर्ता नहुने) शुल्क तिरेर क्यानको कार्यालय, मूलपानीबाट बोलपत्र फाराम खरिद गर्न सक्नेछन् । फाराम खरिद गर्ने अन्तिम मिति नोभेम्बर ३, २०२५ तोकिएको छ । फाराम खरिदका लागि कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र लिखित निवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्ने अन्तिम मिति नोभेम्बर ४ दिउँसो १२ बजेसम्म रहेको छ । बोलपत्रसँगै न्यूनतम नौ लाख रुपैयाँ बराबरको जमानत (बिड सेक्युरिटी) अनिवार्यरूपमा संलग्न गर्नुपर्नेछ । तोकिएको समयपछि प्राप्त भएका बोलपत्र हरूलाई मान्यता नदिइने क्यानले स्पष्ट पारेको छ ।
प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो २ बजे बोलपत्रदाता वा उनीहरूका प्रतिनिधिहरूको उपस्थितिमा क्यानको कार्यालय, मूलपानीमा खोलिनेछ । गत वर्ष सिधै भारतीय टिसिएम नेपाललाई लाइभ फिड प्रोडक्सन र ब्रोडकास्टिङको जिम्मेवारी दिएको थियो।
त्यसो गर्दा आर्थिक अनियमितता भएको भन्दै चर्को आलोचना भएको थियो । नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग र खेलकुद मन्त्रालयले अनुसन्धान गरेका थिए ।




















