कात्तिक २१ गते प्रदर्शन हुने चलचित्र ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक।

काठमाडौं := यही कात्तिक २१ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनक ट्रेलरमा गायक अशोक दर्जीको संघर्ष र सफलताको कथा पेश गरिएको छ । बाल्यकालमा पैसाका लागि सडकमा गीत गाउने अवस्थाबाट चर्चित गायक बन्ने यात्रासम्मको घटनाक्रमलाई यसमा समेटिएको छ ।

प्रेम, हाँसो, रोदन र खुशीको मिश्रण रहेको ट्रेलरमा अशोकको संघर्षपूर्ण बाल्यकाल, ‘मनबिनाको धन’ गीतको लोकप्रियतापछि पाएको ख्याति, स्कुले जीवनका रमाइला क्षणहरूसँगै निमुखा जनतामाथि राज्यले गर्ने व्यवहार र विदेश पलायनको कथालाई पनि मर्मस्पर्शी रूपमा देखाइएको छ । सार्वजनिक ट्रेलरमा अशोकले सडकमा गीत गाएको देखि सांगीतिक सफलतासम्मको कथा देख्न सकिन्छ ।

सडकमा गीत गाउँदै पैसा मागेकोबाट ट्रेलर सुरू हुन्छ । त्यसपछि उहाँलाई एक मनकारी व्यक्तिले काठमाडौं ल्याउँछन्। काठमाडौं आएसँगै उहाँको जीवनमा आउने परिवर्तनको कथा ट्रेलरमा छ। चलचित्रमा अशोक नै मुख्य भूमिकामा देखिनुभएको छ। चलचित्रलाई लिएर चलचित्र निर्देशक टंक बुढाथोकीका दाइ टीका बुढाथोकीले यो नयाँ उद्देश्य बोकेको चलचित्र भएको बताउनुभयो ।

बुढाथोकीले यो चलचित्रले समाज रूपान्तरणको नयाँ आयामलाई देखाउने जिकिर गर्नुभयो । ‘चलचित्र अशोक दर्जीको बायोपिक हो ?’ भन्ने प्रश्नमा निर्देशक टंक बुढाथोकीले पूर्ण बायोपिक भन्न नमिल्ने बताउनुभयो । ‘यो कथा पूर्णरूपमा अशोकको मात्र होइन यसमा मनोरञ्जन पनि चाहिन्छ त्यसै हिसाबले बनाइएको छ । साथै यो चलचित्र बनाउने योजना २०१९ देखि नै थियो तर केही कारणवश योजना रोकियो,’ उहाँले भन्नुभयो ।

चलचित्रको उद्देश्यलाई लिएर आफूले आठ वर्षदेखि काम गरेको र आफूलाई लागेका आरोप-प्रत्यारोपलाई एक हिसाबले जवाफ दिन निर्माण गरिएको उहाँको भनाइ थियो । यो चलचित्रले नेपालको विद्यालमा केही सकारात्मक परिवर्तण ल्याउने आशा बोकेको उहाँले बताउनुभयो । यसै चलचित्रमार्फत संगीतकार तथा गायक टंक बुढाथोकीले निर्देशनमा डेब्यु गर्नुभएको छ । चलचित्रमा उहाँकै कथा र संगीत निर्देशन रहेको छ । ‘हिरोदेखि जिरोसम्मको कथा’ भनिएको छ ।

चलचित्र अशोकसहित सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउतलगायत कलाकारको अभिनय छ । यसमा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पार्नुभएको हो ।

चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत तथा मित्र डि.गुरुङको सम्पादन छ । विष्णुमाया मैनाली निर्माता रहेको चलचित्रमा जी.पी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा हुनुहुन्छ भने सपना शर्मा कार्यकारी निर्माता रहनुभएको छ ।