क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले नेपालसहित पाँच देशका श्रमिक पठाउने निजी जनशक्ति म्यानपावर कम्पनीहरूको संख्या नियन्त्रण गर्दै नयाँ मापदण्डका आधारमा छनोट प्रक्रिया लागू गर्ने घोषणा गरेको छ।
मलेसियाको परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली राजदूतावासलाई पठाएको आधिकारिक सूचना (सर्कुलर नं. BN57/2025) अनुसार, अब मलेसियामा श्रमिक पठाउने कम्पनीहरूलाई मलेसियाको मानव संसाधन मन्त्रालयले तोकेको १० वटा अनिवार्य मापदण्ड पूरा गर्नुपर्नेछ। मापदण्डका आधारमा हुने यो प्रक्रिया मेरिट र पारदर्शितामूलक मूल्यांकन प्रणाली अन्तर्गत हुनेछ।
पत्रमा यस्तो भनिएको छ :
“यो नीति दुई देशबीचको श्रम आप्रवासन प्रक्रियालाई नैतिक, पारदर्शी र दिगो बनाउन सहयोग पुर्याउनेछ।” मलेसिया सरकारले नेपाल सरकारलाई अनुरोध गर्दै भनिएको छ कि, तोकिएका मापदण्ड पूरा गर्ने अनुमतिप्राप्त निजी जनशक्ति कम्पनीहरूको सूची आगामी नोभेम्बर १५, २०२५ भित्र मानव संसाधन मन्त्रालयमा समीक्षा र स्वीकृतिका लागि पठाउनुपर्नेछ।
मापदण्ड नपुगेका वा अपूर्ण विवरण भएका आवेदनहरू स्वीकृत नहुने पत्रमा उल्लेख गरिएको छ। यो निर्णय मलेसियाले हालै नेपाल, बंगलादेश, इन्डोनेसिया, भियतनाम र फिलिपिन्सबाट श्रमिक पठाउने कम्पनीहरूको सूची पुनःव्यवस्थित गर्ने कदमसँग सम्बन्धित छ।
नयाँ प्रणालीले जनशक्ति व्यवसायमा देखिएका अनियमितता नियन्त्रण गर्न, पारदर्शिता बढाउन र वैदेशिक रोजगार प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग गर्ने मलेसियाको दाबी छ। उक्त पत्र अक्टोबर २७, २०२५ मा पुतराजायामा जारी गरिएको हो र नेपालस्थित मलेसिया दूतावासलाई सम्बोधन गरिएको छ।

यस्ता छन् १० बुँदे मापदण्डहरुः
१. कम्तीमा ५ वर्षको सञ्चालन अनुमति : व्यवसायीले आफ्नो मुलुकका सम्बन्धित निकायबाट दर्ता र इजाजतपत्र प्राप्त गरेको हुनुपर्छ र कम्तीमा पाँच (५) वर्षदेखि निरन्तर सञ्चालनमा रहनुपर्छ।
२. पछिल्ला ३ वर्षमा कम्तीमा तीन हजार कामदार व्यवस्थापन
गरेको अनुभव : व्यवसायीले विगत पाँच वर्षभित्रमा कम्तीमा तीन हजार वैदेशिक कामदार व्यवस्थापन गरेको प्रमाणित अभिलेख पेस गर्नुपर्नेछ।
३. कम्तीमा ३ गन्तव्य देशमा कामदार पठाउने अनुभव :
व्यवसायीले विगत पाँच वर्षभित्र कम्तीमा तीन (३) भिन्नभिन्न गन्तव्य देशमा कामदार पठाएको अनुभव वा अभिलेख हुनुपर्छ।
४. सम्बन्धित नियामक निकायबाट प्राप्त सबै वैध इजाजतपत्र : व्यवसायीले तालिम, मूल्यांकन, भर्ती र श्रमिक पठाउने सबै प्रकृतिका कार्यका लागि सम्बन्धित निकायबाट वैध अनुमतिपत्र प्राप्त गरेको हुनुपर्छ।
५. सदाचार प्रमाणपत्र : म्यानपावर कम्पनी सञ्चालकले सम्बन्धित मुलुकको निकायबाट ‘सदाचार प्रमाणपत्र’ पाएको हुनुपर्छ।
६. नैतिक र कानूनी रूपमा शुद्ध एजेन्सी : व्यवसायीले कुनै पनि जबर्जस्ती श्रम, मानव तस्करी, श्रम ऐन उल्लंकन, ठगी, अवैध रकम कारोबार वा अन्य आपराधिक गतिविधिमा संलग्न नभएको प्रमाणित हुनुपर्छ।
७. आफ्नै स्वामित्वमा सञ्चालित तालिम र मूल्याङ्कन केन्द्र : व्यवसायीको आफ्नै तालिम तथा मूल्यांकन केन्द्र हुनुपर्छ, जसमा आवास, प्राविधिक तालिम र अभिमुखीकरणको पूर्ण सुविधा उपलब्ध हुनुपर्छ।
33
८. पाँच अन्तर्राष्ट्रिय कम्पनीको सकारात्मक प्रमाणपत्र :
व्यवसायीले वैदेशिक कम्पनीहरूबाट कम्तीमा पाँच (५) वटा लिखित सिफारिसपत्र वा प्रशंसापत्र पेस गर्नुपर्नेछ।
९. कम्तीमा तीन वर्षदेखि स्थायी कार्यालय सञ्चालन र १० हजार वर्गफिट क्षेत्रफल : व्यवसायीको स्थायी कार्यालय कम्तीमा तीन वर्षदेखि सञ्चालनमा रहनुका साथै कम्तीमा १० हजार वर्गफिट क्षेत्रफलमा आवश्यक सुविधा र पूर्वाधार हुनुपर्छ।
१०. विगतका भर्ती प्रक्रियामा पालना गरिएको प्रमाण : व्यवसायीले सम्बन्धित मुलुकहरू (मलेसिया सहित) का श्रमिक भर्ती प्रक्रिया कानुनी र प्रणालीबद्ध रूपमा पूरा गरेको प्रमाणपत्र वा अभिलेख पेस गर्नुपर्नेछ।
उता नेपालका वैदेशिक रोजगार एजेन्सीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको परराष्ट्र मन्त्रालयबाट आएको उक्त पत्रलाई अस्वीकार गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी वैदेशिक रोजगारीमा कुनै पनि किसिमको एकाधिकार वा सिन्डिकेट स्वीकार्दैनौँ।’ संघले कुनै व्यक्ति वा समूहले सामान्य व्यवसायीहरूको जीविकामाथि सिन्डिकेट लागू गर्न खोजेमा सामाजिक तथा व्यावसायिक बहिष्कार गरिने चेतावनी दिएको छ।


















