काठमाडौं := भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन’ को क्रममा राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको मुख्य निशानामा परे। आन्दोलनकारीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरे।
आगजनीका कारण कार्यालयमा भएका कागजात नष्ट भए भने डिजिटल उपकरण लुटिएर भवनहरू जीर्ण बनेका छन्। हाल क्षतिग्रस्त पार्टी कार्यालयहरूमा राजनीतिक दलहरूले सरसफाइ गरेर आफ्नो नियमित काम सुरु गरेका छन् भने नेकपा एमाले र माओवादी केन्द्रले पुनर्निर्माणको काम थालिसकेका छन्।
राजनीतिक दलहरूले अहिले भवन सुरक्षा तथा इन्जिनियरिङ मूल्याङ्कन, डिजिटल र प्रशासनिक डाटाको पुनर्संरचना, आकस्मिक स्रोतबाट कार्य सञ्चालनलाई निरन्तरता दिने तथा स्थायी पुनर्निर्माणका लागि योजना र स्रोत व्यवस्थापन लाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन्।
- नेकपा एमाले: १० करोडको क्षति, प्रवासको सहयोगमा टेन्टबाट काम
नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीकाअनुसार पार्टी कार्यालयमा रहेको सबै भौतिक सामान र पार्टीका दस्ताबेजहरू आगोले नष्ट भएका छन्। उनले करिब १० करोड रुपैयाँ बराबरको सामग्री र भवनको क्षति भएको बताए।
अधिकारीले कार्यालय सञ्चालनका लागि आवश्यक कम्प्युटर तथा अन्य सामग्री खरिदका लागि प्रवासमा रहेका पार्टी सदस्यहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए। हाल अस्थायी टेन्ट हालेर पार्टीको नियमित कार्य सञ्चालन गरिएको छ।
‘हामीले पुनर्निर्माणका लागि सबैभन्दा पहिला भवनलाई इन्जिनियर साथीहरूबाट परीक्षण गर्यौँ। भवनको परीक्षण गराइसके पछाडि हाम्रा ६ वटा कोठाहरू आगजनीका कारणले पुरै क्षति भएको स्थिति छ,’ उनले भने, “यसलाई कम खर्चमा एक महिनाभित्र पुनर्निर्माणको काम सक्ने गरी काम अगाडी बढाइएको छ।’ अधिकारीले महाधिवेशन आउन सात हप्ता मात्र बाँकी रहेकोले अस्थायी रूपमा टेन्ट हालेर सङ्गठनको काम थालिएको पनि जानकारी दिए।
- माओवादी केन्द्र: ५ करोडको क्षति, रेट्रोफिट डिजाइनमा पुनर्निर्माण
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय मुख्यसचिव गणेशमान पुनले कार्यालय क्षतिपश्चात् सरसफाइ गरेर पुनः सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार, हाल झ्याल-ढोका परिवर्तन गर्ने, रङ्गरोगन गर्ने लगायतका काम भइरहेका छन्। निर्माणाधीन भवनबाट नै पार्टीको पदाधिकारी तथा स्थायी समिति बैठकहरू सञ्चालन भइरहेको छ।
मुख्यसचिव पुनले आगजनी तथा तोडफोडबाट ५ करोड रुपैयाँ बराबरको क्षति भएको बताए। उनले क्षतिग्रस्त भवनलाई रेट्रोफिट डिजाइनमार्फत नयाँ ढङ्गले पुनर्निर्माण गर्ने जानकारी दिए। कार्यालयको सबैभन्दा तल्लो तला, आवास क्षेत्र, ग्राउण्ड फ्लोर र पहिलो तला निकै क्षति भएको उनले बताए।
‘रेट्रोफिटको डिजाइन हाम्रो इन्जिनियर टोलीले गरिरहेको छ। यसलाई हामीले पुनर्निर्माण गर्दै यो कार्यालयलाई नयाँ ढङ्गले कसरी लान सकिन्छ भन्ने बारेमा अबको पार्टीको सचिवालयको बैठकबाट निर्णय गरेर त्यसलाई हामी अझै अगाडि बढाउँछौँ,’ पुनले भने।
पूरा समाचार स्रोत : रातोपाटी अनलाइन मिडिया ।



















