काठमाडौं:= ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्थाको पुनर्स्थापनाको पक्षमा सक्रिय मेडिकल ब्यावसायी दुर्गा प्रसाईंले आफू अब सुध्रिन तयार भएको बताउनु भएकाे छ । उहाँले आवश्यक परे देश छोड्न पनि तयार रहेको बताउनु भयाे।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले भन्नुभयाे, “तपाईंहरूले भन्नुहुन्छ- दुर्गा, तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भने पनि म रेडी छु, म जान्छु। मलाई लोभ छैन, मलाई केही चाहिँदैन ।” २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र पछिल्लो समय विभिन्न आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै प्रसाईंले अतीतका गल्तीहरू स्वीकार गर्नुभयाे ।
उहाँले भन्नुभयाे, “हिजो जे भयो–भयो, हामी बाटो बिर्सियौं, अब कमसेकम देश जोगाउने काममा लाग्नुपर्छ । नेपाल भुंग्रोमा गएको छ, त्यसलाई उठाएर न्यानो ठाउँमा लैजानुपर्छ । अब सुध्रिनैपर्छ ।” आफू ‘रेण्डम टाइपको मान्छे’ भएको बताउँदै उनले मुख्यधारका मिडियाले आफूविरुद्ध मात्रै लेख्ने गरेको गुनासो पनि गरे । “मेन स्ट्रिम मिडियाले मेरो राम्रो कहिल्यै लेखेन, सधैं नराम्रो मात्रै लेख्यो,” उहाँले भन्नुभयाे, “तपाईंहरूसँग लड्दै आएको हुँ, तर फेरि पनि यहाँ उपस्थित छु।”
गत चैत १५ गते उनले काठमाडौंको तिनकुनेमा राजसंस्था पुनर्स्थापनाको पक्षमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यसपछि भारत भागेका प्रसाईंलाई प्रहरीले पक्राउ गरी नेपाल ल्याएको थियो । उक्त घटनापछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उहाँलाई धरौटीमा रिहा गरेको थियो । हाल उहाँले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने घोषणा गर्नुभएकाे छ ।
गृह मन्त्रालयले प्रदर्शन नगर्न आग्रह गर्दै प्रसाईंलाई वार्ताका लागि बोलाएको छ । वार्ताको निम्तो पाएको भोलिपल्टै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कदमको स्वागत गर्दै जनताको आवाज सुन्ने प्रयासका लागि गृह मन्त्रालयको प्रशंसा गरेका छन् ।


















