बुकित मेर्ताजम (पेनाङ):= पेनाङस्थित जुरु गाउँमा स्थानीय आमा–छोरीको निर्मम हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेका तीन नेपाली पुरुषहरूलाई सात दिनका लागि थुनामा राखिएको छ।
मुख्य अभियुक्त मानिएका ३५ वर्षीय पुरुष, उनका ४० वर्षीय दाजु र २८ वर्षीय एक साथीलाई बुधबारदेखि अक्टोबर ३१ सम्म थुनामा राख्न बुकित मेर्ताजम अदालतकी मजिस्ट्रेट नुरुल रसिदाह मोहद अकीतले अनुमति दिएकी हुन्। यी तीनैजनामाथि मलेसियाको दण्ड संहिता (Penal Code) को धारा ३०२ (हत्या) अन्तर्गत अनुसन्धान भइरहेको छ।
बिहान करिब ९:४५ बजे हातकडी लगाएर तिनीहरूलाई प्रहरी टोलीको साथमा बुकित मेर्ताजम मजिस्ट्रेट अदालतमा पेश गरिएको थियो। सूचना अनुसार, मुख्य अभियुक्तलाई सेलाङ्गोरस्थित इमिग्रेसन कार्यालयमा मलेसिया छाडेर भाग्नको लागि तयारी गरिरहेको बेला पक्राउ गरिएको हो भने, उनका दाजु र साथीलाई बुकित तेङाह क्षेत्रमा पक्राउ गरिएको हो। मुख्य अभियुक्त विदेश भाग्ने प्रयासमा रहेको अवस्थामा पक्राउ गरिएको बताइएको छ।
यी तीन जनाको पक्राउले जुरुमा भएको आमा–छोरीको हत्या प्रकरणको वास्तविक उद्देश्य र कारण (मोटिभ) पत्ता लगाउन सहयोग पुग्ने प्रहरीले विश्वास व्यक्त गरेको छ। यसअघि, पुलाउ पिनाङ प्रहरी प्रमुख दातुक अजिजी इस्माइल ले थप तीन जनालाई पनि पक्राउ गरिएको पुष्टि गरेका थिए। गत अक्टोबर १८ मा सार्वजनिक रिपोर्टअनुसार, सारिया चे हिन (५१) र उनकी दत्तक छोरी नुर अफ्रिना अलिशा अब्दुल रहिम (११) लाई भाडाको घरमा निर्मम तरिकाले हत्या गरिएको थियो।
मृतक महिला सारियाको शव भुइँतलाको भान्सामा टाउको प्रायः अलग भएको अवस्थामा भेटिएको थियो भने उनकी छोरी माथिल्लो तलामा रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन्। मृतकका श्रीमानले साँझ करिब ७:३० बजे घरमा पुग्दा दुबैको शव फेला पारेका थिए। घटनापछि प्रहरीले श्रीमानसहित स्थानीय तीन जनालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। – मलेशिया ग्याजेट


















