[ तिलोचन गौतम/आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया) := गत महिना असोजमा नेपालमा अत्याधिक वर्षाको कारण आएको बाढीपहिरोबाट अत्याधिक धेरै पीडित नागरिकहरुलाई मलेसियामा बस्ने नेपाली समुदाय, संघसंस्थाले आर्थिक सहयोग प्रदान गरेको छ ।
मलेसियामा स्थापित संघसंस्था गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया, नेपाल आदिवासी जनजाती महासंघ मलेसिया र नेपाली ब्यावसायी समाज मलेसियाले संयुक्त रुपमा संकलन गरेको आर्थिक सहयोग रकम इलाम जिल्लामा पर्ने देउमाई नगरपालिका, माङ्सेबुङ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका बाढीपीडितहरूलाई राहतस्वरूप आर्थिक सहयोग रकम प्रदान गरेको हो ।

गत असोज १८ देखि २० गतेसम्मको लगातार वर्षाका कारण विपद्ले इलाम जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको थियो। देउमाई नगरपालिकाका ६० घरधुरी, माङ्सेबुङ नगरपालिकाका १४ घरधुरी र फाकफोकथुम गाउँपालिकाको १ घरपरिवार, गरी कुल ७५ घरपरिवारलाई प्रति घरधुरी रु. ५,००० का दरले जम्मा रु. ३ लाख भन्दा बढी सहयोग प्रदान गरिएको ३ वटा संघसंस्थाको तर्फबाट सहयोग रकम हस्तान्तरण गर्न नेपाल पुग्नु भएका एनआरएनए मलेसिया अध्यक्ष एवं महासंघका सल्लाहकार समेत रहनुभएका ईन्द्रनारायण लिम्बुले बताउनुभयो ।
एनआरएनए मलेसिया , महासंघ मलेसिया र नेपाली ब्यावसायी समाज मलेसियाले यसअघिको आ-आफ्नो संस्थाको छुट्टाछुट्टै मासिक बैठकबाट नेपालमा बाढीपहिरोबाट धेरै नै पीडित नेपाली नागरिकहरुलाई सहयोग गर्ने निर्णय पारित गरेका थिए । सोही अनुरुप राहत रकम हस्तान्तरण गर्न संघका अध्यक्ष लिम्बु, महासचिव प्रमोद शर्मा, उपाध्यक्ष बालध्वज लिम्बु लगायतको टोलीले इलाम पुगेर बाढीपीडित परिवारहरूलाई प्रत्यक्ष रूपमा भेटेर हस्तान्तरण गरेको हो।

महासंघको तर्फबाट बाढीपीडितलाई दिने सहयोग रकम जुटाउन महासंघभित्रका कार्यसमितिको पदाधिकारी , सल्लाहकार लगायतसंग संकलन गर्ने मात्रै नभैइ कोतरायामा आज तिहारको उपलक्ष्यमा देउसीभैलो समेत खेलेर , नेपाली संस्कृतिको जगेर्ना गरेर पनि आवश्यक रकम जुटाउन सफल भए । यस् बाढीपीडितलाई संयुक्त सहयोग रकम हस्तान्तरण कार्यलाई सफल बनाउन भुमिका खेल्नुहुने , एनआरएनए मलेसिया , सबै नेपालीजन र सहयोगी दाताहरुमा महासंघले धन्यवाद ज्ञापन गरेको छ ।


















