ग्लोबल आइएमई बैंक दोस्रोपटक “बेष्ट बैंक अवार्ड-२०२५” बाट सम्मानित।

काठमाडौं := ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैंक सन् २०२५ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो । उक्त अवार्डसँगै ग्लोबल आइएमई बैंक लगातार दुर्ई वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो ।

ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो । बैंकका अध्यक्ष ढकालले सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको उल्लेख गर्दै सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत अन्य नियामक निकायहरू, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा खुसी साट्दै हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

ग्लोबल बैंकका अनुसार ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक र वाणिज्य बैंकहरूलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्छ। ग्लोबल फाइनान्सले २०२५ का लागि हङकङको एचएसबिसी, भारतको स्टेट बैंक अफ इण्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको युओबी मलेसिया, बंगलादेशको सिटी बैंक, जापानको एसएमबिसी लगायत विश्वभरका विभिन्न बैंकलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नवीनतम् सेवा प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’को सम्मानले आगामी दिन बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न प्रोत्साहित गर्ने बैंकले जनाएको छ । यसअघि पनि ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ को अवार्ड प्राप्त गरेको थियो ।

बैंकले हालसम्म उक्त अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक इएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ ।