आज काग तिहार पर्व । आज (आइतबार) यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर मनाइँदै छ। काग तिहारदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण हिजो (शनिबार)देखि नै यम पञ्चक सुरु भएको छ। यस्तै, आज धनवन्तरी जयन्ती पनि मनाइँदै छ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ ।
काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खाने कुरा दिने चलन रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल्, शुभ बोल् भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घरवरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
आयुर्वेदका प्रवर्तक धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धनवन्तरी जयन्ती मनाइँदै छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिनुभएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।
विक्रम संवत् १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रूपमा धनवन्तरी जयन्ती मनाउन थालिएको हो । आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको छ । आज देशभरका आयुर्वेद अस्पताल तथा क्याम्पस र वैद्यखानामा धनवन्तरी जयन्ती विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।
झिलिमिली उज्यालोको चाड तिहारका अवसरमा राजधानीलगायत प्रमुख सहरमा थरिथरिका बत्ती बाल्न सुरु भइसकेको छ । यस्तै, कात्तिक ३ गते सोमबार कुकुर तिहार पर्व रहेको छ । त्यसैदिन नरक चतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ ।
यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ३ गते सोमबार नै रहेको छ । लक्ष्मी पूजाको रात्रिलाई सुखरात्रि पनि भनिन्छ । कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मंगलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यम पञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोकेअनुसार कुनै कर्म परेको छैन ।
गाईगोरु एवं गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४६ यसै दिनदेखि सुरु हुन्छ ।
कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभसाइत रहेको जनाइएको छ । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।
सर्वसाधारणका लागि मध्याह्न कालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने र राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।


















