क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग (इमिग्रेशन) ले अध्यागमन कानुनबिपरित नक्कली पासपोर्ट र भिसा बनाउने एक गिरोहलाई छापामारी गरि नियन्त्रणमा लिएको छ। उक्त छापामारीमा तीन जना बंगलादेशी नागरिकहरूलाई क्वालालम्पुरबाट पक्राउ गरिएको अध्यागमनले जनाएको हो।
अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया साबानका अनुसार, गिरोह बिरुद्धको कारवाही दुई हप्तासम्मको विशेष निगरानी पछि, इमिग्रेशन मुख्यालयको गुप्तचर तथा विशेष अपरेसन शाखाले सञ्चालन गरेको थियो। तीनै जना पक्राउ परेकाहरूको उमेर २५ देखि ३१ वर्षको बीचमा रहेको छ, जसमा गिरोहको मुख्य नाइके पनि समावेश छ।
प्रारम्भिक जाँचमा दुई जनासँग निर्माण र कृषि क्षेत्रमा कार्य गर्नको लागि जारी गरिएको PLKS (Pas Lawatan Kerja Sementara) रहेको पाइएको छ भने तेस्रो व्यक्तिसँग विद्यार्थी भिसा (Student Pass) रहेको पुष्टि भएको छ।
बरामद गरिएका सामग्रीहरू
– २१ थान बंगलादेशी राहदानी
– १ थान म्यानमारको राहदानी (सक्दो रूपमा नक्कली)
– २१ थान राहदानीको बायोडाटा पृष्ठ
– ४ थान मोबाइल फोन
– १ थान कम्प्युटर
– १ थान काट्ने चक्कु
जकारियाका अनुसार, गिरोहले FOMEMA (स्वास्थ्य परीक्षण) का लागि राहदानी नक्कली बनाउने काम गर्दै आएको र एक राहदानीको लागि RM200 देखि RM350 सम्म शुल्क लिने गरेको देखिएको छ। गिरोहले सरकारी नजर छल्न महँगो अपार्टमेन्टमा बसेर आफ्नो गतिविधि सञ्चालन गर्दै आएको थियो विभागले जनाएको छ ।

उनीहरूको काम गर्ने तरिका (Modus Operandi):नक्कली राहदानीमा गिरोह सदस्यको फोटो राख्ने, तर राहदानीको नम्बर र व्यक्तिगत विवरण भने ग्राहककै राखिने — जसले गर्दा ग्राहक ‘unfit’ (स्वास्थ्य परीक्षणमा अयोग्य) भए पनि परीक्षण पास हुने देखिन्छ।
गिरोहले करिब दुई महिनादेखि यस्ता गतिविधि गर्दै आएको अनुमान गरिएको छ। यस किसिमको तरिकामा काम गर्ने यो तेस्रो गिरोह हो जुन यस वर्ष नियन्त्रणमा लिइएको हो।पक्राउ परेका तीनै जनालाई आप्रवासन ऐन १९५९/६३ को धारा ५६(१)(ल) अन्तर्गत अनुसंन्धानका लागि पुत्रजायास्थित इमिग्रेशन कार्यालयमा राखिएको छ।


















