पेराक (मलेसिया):= मलेसियाको पेराक राज्यमा अवस्थित बातुगाजाह औद्योगिक क्षेत्रमा एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत ३६ वर्षीय नेपाली कामदारको ग्राइन्डिङ मेसिनमा पिसिएर ज्यान गएको छ।
मलेसिया फायर एन्ड रेस्क्यू विभाग (JBPM) पेराकका कार्यवाहक सहायक निर्देशक शाज्लिन मोहद हनाफियाका अनुसार, गत बुधबार बिहान करिब १०:२९ बजे उक्त दुर्घटनाको सूचना प्राप्त भएको थियो। उनका अनुसार, पीडित मर्मतकार्यका क्रममा मेसिन भित्र अड्किएका सामग्री निकाल्ने प्रयास गर्दै थिए, त्यस क्रममा मेसिन अचानक स्वतः सञ्चालनमा आएर उनलाई भित्र तानेको थियो।
घटनास्थलमा पुगेको उद्धार टोलीले उनलाई निकाल्ने प्रयास गर्दा, मेसिनको ब्लेडमा शरीर बेरिएको अवस्थामा फेला परेको थियो। स्वास्थ्य मन्त्रालयको टोलीले घटनास्थलमै उनको मृत्यु पुष्टि भैइसकेको बताइएको छ। उद्धारका लागि टोलीले मेसिनको तल्लो भाग खोलेर शव थोरै बाहिर निकालेको थियो।
पछि कम्पनीका प्राविधिकले मेसिनलाई म्यानुअल रूपमा चलाएर ब्लेड घुमाइ शव पूर्ण रूपमा निकाल्न सहयोग गरेका थिए। शवलाई प्रहरीले पोस्टमार्टम र आवश्यक कारबाहीका लागि आफ्नो जिम्मा लिएको छ। जानकारी अनुसार उद्धार अभियान दिउँसो १२:५० बजे सम्पन्न भएको थियो । एजेन्सी




















