ऐरिको उत्कृष्ट प्रदर्शनमा यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित, विश्वकप खेल्ने सम्भावना बलियो।

काठमाडौं:= आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले चिर प्रतिद्वन्द्वी संयुक्त अरब एमिरेट्स (यूएई)माथि १ रनको रोमाञ्चक जित निकालेको छ । यस जितसँगै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । नेपाल र यूएई दुबैका लागि यो खेल निर्णायक थियो। जित्ने टोली विश्वकप नजिक पुग्ने सम्भावना बढ्ने स्थिति थियो।

आइतबार ओमानको अल एमिरेट क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो । नेपालले यसअघि समूह चरणमा जापानलाई पराजित गर्दै दुई अंक हासिल गरेको थियो । यो जितपछि सुपर सिक्समा नेपालको कुल अंक चार पुगेको छ ।

त्यस्तै, कतारलाई ३४ रनले हराउँदै ओमानले पनि चार अंकसहित शीर्ष स्थानमा स्थान बनाएको छ । समान अंक भए पनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ । यूएई भने दुई अंकसहित तेस्रो स्थानमा रहेको छ । यूएईका अलिसान सराफुले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रन बनाउनुभयो, तर टोलीलाई जित दिलाउन सक्नुभएन ।

उहाँ दिपेन्द्र सिंह ऐरिबाट बोल्ड आउट हुनुभयो । ओपनर जोनाथन फीजी १९ रनमा आउट हुनुभयो भने ध्रुव परासरले ३२ रनको योगदान दिनुभयो । १९औँ ओभरको अन्तिम बलमा परासरले नन्दन यादवलाई छक्का हानेपछि नेपाल दबाबमा आएको थियो । त्यसपछि अन्तिम ओभरमा स्थिति झन् रोमाञ्चक बन्यो ।

यूएईलाई जितका लागि आठ रन आवश्यक थियो । तेस्रो बलमा सराफले दिपेन्द्र सिंह ऐरिलाई छक्का प्रहार गर्दै खेललाई निर्णायक मोडमा लग्नुभयो, तर चौथो बलमै सन्दीप जोराले परासरलाई क्याच आउट गराएपछि नेपालको जित सुनिश्चित भयो । ओभरको अन्तिम क्षणमा हाइडर अली र जैद अली रन आउट भएपछि नेपालले १ रनले जित दर्ता गर्न सफल भयो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गर्नुभयो । सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान एक–एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन बनाएको थियो । ओपनर आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.५ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाउनुभयो।

भुर्तेलले २६ बलमा २ चौका र २ छक्कासहित २८ रन बनाउनुभयो । कप्तान रोहित पौडेल २० रनमा आउट हुनुभयो भने आशिफ शेखले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्नुभयो । उहाँ ५१ रनमा बोल्ड आउट हुनुभयो। मध्यक्रमका दिपेन्द्र सिंह ऐरि १ रनमा आउट हुनुभयो भने गुल्सन झाले ५ बलमा २ चौका र १ छक्कासहित १४ रनको तेज पारी खेल्नुभयो ।

उहाँले १८औँ ओभरमा लगातार चौका-छक्का-चौका प्रहार गरे पनि पाँचौँ बलमा क्याच आउट हुनुभयो । कुशल मल्ल १० रनमा आउट हुनुभयो । सन्दीप जोरा ४ रन र सोमपाल कामी ६ रनमा अविजित रहनुभएको थियो । यूएइका लागि हर्सित कौशिक, ध्रुव परासर, जाहिद अली, हाइडर अली, जुनैद सिद्दीकी र मुहम्मद रोहिदले समान एक-एक विकेट लिनुभयो । यो जितसँगै नेपालले सुपर सिक्समा चार अंक जोडेको छ ।