काठमाडौं:= गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनको एक महिना पूरा भएको छ । त्यही आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएर चुनावको मिति घोषणा भइसकेको छ । तर, आन्दोलनका मुख्य नेतृत्वकर्ता ‘जेन-जी’ पुस्ता एकठाउँ उभिन सकेका छैनन् ।
‘जेन-जी’ पुस्ता न एजेण्डामा स्पष्ट देखिएको छ न आन्दोलनकै भावनाअनुसार चुनाव केन्द्रित हुन सकेका छन्। ‘जेन-जी’ अगुवाको आवरणमा आफ्नो रवाफ देखाउने, विधि र कानुनलाई नमान्ने प्रवृत्ति देखिन थालेको छ । ‘जेन-जी’ प्रदर्शनको पहिलो दिन भदौ २३ गते प्रदर्शनकारीभन्दा स्वयंसेवकको भूमिकामा देखिएका ‘हामी नेपाल’ संस्थाका सुदन गुरुङको गतिविधिप्रति चौतर्फी प्रश्न उठिरहेको छ ।
पहिलो दिनको आन्दोलनमा स्वयंसेवकको भूमिकामा देखिएका गुरुङ दोस्रो दिनको विध्वंस र आगजनीमा भने अग्र मोर्चामा देखिएका सार्वजनिक फोटो र भिडियोमा देखिन्छ । तिनै गुरुङ अन्तरिम सरकार गठनपछि सरकारी निकाय र सरकारलाई अनावश्यक दबाब र धम्की दिने गरेका छन् । हुन त गुरुङमाथि ‘जेन-जी’ पुस्ताले नै जेन-जी आन्दोलनलाई हाइज्याक गरेको आरोप लागेको छ ।
राजनीतिक दलहरूले वर्तमान सरकारमाथि ‘हामी नेपाल’ नामक एनजिओका सुदन गुरुङ हाबी भएकोमा पनि असन्तुष्टि जनाउन थालेका छन् । ‘जेन-जी’ आन्दोलनको नेतृत्वकर्ता भन्दै गुरुङले सरकारमाथि अनावश्यक हस्तक्षेप बढाइरहनु भएको छ । ‘जेन-जी’ का मागहरूप्रति सकारात्मक रहेका दलहरू गुरुङको गतिविधिप्रति भने रुष्ट छन् ।
केही समय अगाडि गुरुङले संविधान च्यात्ने कि राख्ने भन्नेमा आफू दुविधामा रहेको अभिव्यक्ति दिनुभएको थियो । यस्तै, गुरुङले प्रधानन्यायाधीशको राजीनामा, अख्तियार प्रमुखको राजीनामा माग गर्नेलगायत सरकारी कार्यालयमा गएर अनावश्यक निर्देशन दिँदै आउनुभएको छ । पछिल्ला दिनहरूमा उहाँले निवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न सरकारलाई दबाब दिइरहनु भएको छ ।
ओली र लेखकविरुद्ध प्रहरीमा ‘जेन-जी’ आन्दोलनमा मृतक भएका परिवारको नाममा जाहेरी पनि परेको छ । तर, प्रहरीले उक्त जाहेरी सरकारले ‘जेन-जी’ आन्दोलनको घटनाका जाँचबुझ गर्न बनेको आयोगमा पठाएको छ । राजनीतिक दलका नेताहरूले भदौ २३ र २४ को घटनाको छानविन गर्न सरकारले आयोग गठन गरिसकेको अवस्थामा ओली र लेखकलाई पक्राउ गर्न दिएको दबाबलाई असामान्य रूपमा लिएका छन् ।
कसैको लहडमा राज्य लाग्न हुँदैन : सापकोटा
नेकपा माओवादी केन्द्रका नेता माधवप्रसाद सापकोटा कोही कसैको लहडमा राज्य लाग्न नहुने बताउनुभएको छ । पछिल्ला दिनका निश्चित केही घटनाक्रमहरूलाई हेर्ने हो भने सरकारले दिएको संकेत सहज नभएको उहाँको तर्क छ । ‘जेन-जी’ आन्दोलनका क्रममा भएको नरसंहारको छानविन गर्न आयोग बनिसकेको उल्लेख गर्दै नेता सापकोटाले आयोगको प्रतिवेदनका आधारमा दोषी ठहर भएमा कारबाही गर्न सकिने बताउनुभयो ।
कोही युवाले प्रतिशोधका आधारमा कसैलाई समाउनुपर्छ भनेकै भरमा राज्य भावनामा बगेर, प्रभावित भएर त्यतातिर लाग्न नहुने तर्क गर्नुभएका सापकोटाले कानुन/मूल्य मान्यतालाई नजरअन्दाज गरेर अगाडि बढेमा त्यसले समाजमा मुठभेडको स्थिति सिर्जना गर्ने चेतावनी दिँदै भन्नुभयो, ‘विधिभन्दा ठूलो र माथि कोही पनि छैन । हुनसक्छ, नरसंहारमा को को छन् भन्ने कुराको एउटा आयोग बनेको छ । त्यो आयोगलाई अधिकार दिइएको छ । त्यो प्रतिवेदनले दोषी ठहर भयो भने त्यसवेला बल्ल कसरी अगाडि जाने भन्ने कुराको मार्गप्रशस्त हुन्छ ।’
सरकार सञ्चालन वैध नेतृत्वमार्फत हुनुपर्छ : रायमाझी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले सरकार सञ्चालन वैधानिक तरिका र वैध नेतृत्वमार्फत हुनुपर्नेमा जोड दिनुभयो । असंवैधानिक शक्ति केन्द्रहरू हाबी हुन थालेमा मुलुक खतरामा पर्नसक्ने तर्क गर्नुभएका रायमाझीले वर्तमान सरकारलाई कसैको कठपुतली नबन्न सुझाव दिनुभएका रायमाझीले भन्नुभयो, ‘सरकार सञ्चालन चाहिँ वैधानिक तरिकाबाट हुनुपर्छ, वैध मानिसबाट हुनुपर्छ ।
असंवैधानिक शक्ति केन्द्रहरू यदि विस्तारै हाबी हुन थाले भने त्यसले मुलुकको राजनीतिलाई धमिलो बनाउँछ । अहिले त बाढी-पहिरोको नाममा छ, भोलि विकासका नाममा, अर्थका नाममा, परराष्ट्रका नाममा पनि उनीहरूको हस्तक्षेप बढ्न थाल्छ । त्यतिबेला राज्य फेलिअर स्टेजमा जान्छ ।’
राज्य संयन्त्रमा अनधिकृत हस्तक्षेप भइरहेको छ : बर्तौला ।
नेकपा एमालेका नेता महेश बर्तौलाले राज्य संयन्त्रमा अनधिकृत हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ । अराजकता र भिडकै दबाबमा राज्य चल्ने हो भने मुलुक दिशाहीन बन्न जाने टिप्पणी गर्दै बर्तौलाले भन्नुभयो, ‘राज्यका औपचारिक संयन्त्रहरूलाई अनधिकृत मानिसहरूले अनधिकृत ढंगबाट प्रवेश दिएर, खुल्लमखुल्ला महत्व दिएर अनधिकृत निर्देशन दिने कुरा, राज्यका सूचनाहरू माग गर्ने कुरा, के भयो के भएन ? भन्ने कुराको एउटा माथिल्लो तहको निकायले जस्तो तल निर्देशनहरू जारी गर्ने कुरा त्यो किमार्थ यो लोकतान्त्रिक शासन व्यवस्थामा, लोककल्याणकारी शासन व्यवस्थामा, विधिको शासन वकालत गर्ने हामीहरूका लागि त्यो उपयुक्त कुरा होइन ।’
त्यसो त गुरुङका गतिविधिप्रति ‘जेन-जी’ समूहबाटै असन्तुष्टि देखिएको छ । राष्ट्रपतिसँगको छलफलमा गुरुङ समूहलाई मात्र महत्व दिएको भन्दै शनिबार राष्ट्रपति भवन शीतलनिवास अगाडि ‘जेन-जी’ युवाहरूले नाराबाजी गरेका छन् । नाराबाजी गर्ने युवाहरूले ‘वास्तविक जेन-जी’लाई बाहिर राखेर ‘हामी नेपाल’ संस्थाका सुदन गुरुङको टोलीलाई मात्रै शीतल निवासभित्र प्रवेश गर्न दिएको आरोप लगाएका छन् । ‘जेन-जी’ प्रतिनिधि इञ्जिनियर प्रवेश लामाले ‘जेन-जी’ आन्दोलन सुदन गुरुङले मात्रै नगरेको बताउनुभएको छ ।
‘जेन-जी एलायन्स फर मोनार्की’ नामक ‘जेन-जी’ समूहले वर्तमान सरकार र राजनीतिक नेतृत्वले वास्तविक देशभक्त र राष्ट्रवादी जेन-जीहरूलाई निषेध गरी विद्रोहमा जान बाध्य पारिरहेको आरोप लगाएको छ । समूहले छलफलमा सहभागी भइरहेका भनिएका प्रतिनिधिहरू विभिन्न पार्टीका नेताद्वारा परिचालित, भ्रष्ट नेता र दलका कार्यक्रममा सहभागी भएको प्रमाण रहेको दाबी उनीहरूको छ ।




















