काठमाडौं := यही असोज ३१ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ । झण्डै चार मिनेट लामो ट्रेलर सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथा वरिपरि घुमेको छ ।
शुक्रबार दिउँसो युट्युबमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको छ । हाल ‘जेरी अन टप’ ट्रेलर युट्युबको नेपाली चाट्र्समा शीर्षस्थानमा छ । सँगसँगै दर्जनबढी देशमा यो ट्रेलर युट्युबमा उत्कृष्ट १० ट्रेण्डिङभित्र छ ।
एडभेन्चर लभस्टोरी ‘जेरी अन टप’ मुख्य कलाकार अनमोल केसीसहित आँचल शर्मा र जसिता गुरुङसँगको प्रेममा आउने उतारचढावलाई देखाइएको छ । ट्रेलरमा भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गीसमेत अटाउनुभएको छ । बच्चैदेखि हरेक खेलमा हराएका पितालाई जितेर देखाउन सगरमाथा चढ्ने संकल्प बोकेको जेरीले आरोहणको क्रममा भोग्ने कठिनाइ र चुनौतीलाई ट्रेलरमा देखाइएको छ ।
अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ सुयोग गुरुङले निर्देशन गर्नुभएको हो । सरोज न्यौपानेको प्रस्तुति रहेको चलचित्रको निर्माणमा न्यौपानेसँग भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानीमा साझेदारी गर्नुभएको छ ।
हेमराज बिसीको कथा रहेको चलचित्रको पटकथा विश्वास तिम्सिनाको लेख्नुभएको हो । राजधानीमा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले यो चलचित्रको प्रदर्शन अधिकार लिएका छन् । अन्तर्राष्ट्रिय बजारमा चलचित्रको उच्च माग आइरहेको निर्माता न्यौपानेले बताए ।



















