काठमाडौं:= नेपाली कांग्रेसमा पार्टीको विशेष महाधिवेशनको मुद्दा तत्कालका लागि बन्द भएको छ । ‘जेन-जी’ आन्दोलनपछि पार्टी नेतृत्व हस्तान्तरणको लागि भन्दै कांग्रेसमा विशेष महाधिवेशन बोलाउनुपर्ने आवाज तीव्र बनेको थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशको रणनीतिअनुसार संस्थापनइतर समूहका नेताहरूले विशेष महाधिवेशनको माग गर्नको लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माले त विशेष महाधिवेशनको माग गर्नको लागि यही असोज २५ गतेभित्र हस्ताक्षर संकलन गरिसक्न सार्वजनिक आह्वान नै गर्नुभएको थियो । ‘जेन-जी’ आन्दोलनपछि सबैभन्दा पहिले पार्टी महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मुद्दा उठाउनुभएको थियो । महामन्त्री थापाले ‘जेन-जी’ आन्दोलनपछि पहिलोपटक बसेको पदाधिकारी बैठकमा विशेष महाधिवेशनको प्रस्ताव नै पेस गर्नुभएको थियो ।
तर, महामन्त्री थापा एकाएक विशेष महाधिवेशन गर्नुपर्ने आफ्नै अडानबाट पछि हट्नुभएको छ । हस्ताक्षर संकलन भइरहेको बेला महामन्त्री थापा अन्ततः आफ्नै एजेण्डाबाट पछि हट्नुभएको हो । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव एजेण्डाका रूपमा राख्नुभयो ।
१४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमिति नेतृत्वको चार वर्षे कार्यकाल आगामी मंसिरका सकिँदै छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । पार्टी विधानमा केन्द्रीय कार्यसमितिको बहुमतले एक वर्ष कार्यकाल थप्न सक्ने व्यवस्था छ । कार्यकाल नथपी यही मंसिरभित्रै नियमित महाधिवेशन गर्ने प्रस्ताव थापाले बैठकमा एजेण्डाका रूपमा राख्नुभएको हो ।
महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव एजेण्डाका रूपमा बैठकमा राखेपछि जारी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा छलफल चलिरहेको छ । विधानमा भएको व्यवस्थाका कारण विशेष महाधिवेशनमा जान गाह्रो देखिएपछि थापाले इतर समूहका नेता डा.शेखर कोइरालालाई भेटेर नियमित महाधिवेशनका पक्षमा लाग्नलाई आग्रह गर्नुभएको थियो ।
निकटस्थ स्रोतका अनुसार महामन्त्री थापाले डा. कोइरालासँगको भेटमा विधानअनुसार विशेष महाधिवेशन गर्न गाह्रो देखिएको भन्दै नियमित महाधिवेशनका लागि दबाब दिन आग्रह गर्नुभएको हो । तर, कोइरालाले महाधिवेशनबारे आफू पुरानै अडानमा कायम रहेको र असोज २६ गते बोलाइएको केन्द्रीय समिति बैठकमा धारणा राख्ने जवाफ दिनुभएको थियो ।
डा.कोइराला नियमित महाधिवेशनमै जोड दिँदै आउनुभएको छ । डा.कोइरालाले एक वर्ष अगाडि २०८१ साउनमा बसेको केन्द्रीय समिति बैठकमै २०८२ मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । अबको निर्वाचनसम्म नियमित महाधिवेशन गरेर पार्टीमा नयाँ नेतृत्व आउनुपर्ने पक्षमा आफू रहेको कोइरालाले सार्वजनिक रूपमा बताइरहनु भएको छ ।
बिहीबारदेखि जारी पदाधिकारी र पूर्व-पदाधिकारीको बैठकमा पनि अधिकांश नेताहरूले नियमित महाधिवेशनमै जोड दिएका छन् । महामन्त्रीद्वय शर्मा र थापा सभापति देउवाले असोज २६ गतेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकअगावै पार्टी केन्द्रीय कार्यालयमा ४० प्रतिशत हस्ताक्षर बुझाउन चाहन्थे । तर, त्यो प्रयास असफल हुने देखेपछि थापा पछि हटेर नियमित महाधिवेशनतिर लाग्नुभएको छ । घटनाक्रमसँगै विशेष महाधिवेशनको मुद्दा कमजोर बनेर अब कांग्रेस नियमित महाधिवेशन उन्मुख देखिएको छ ।
महाधिवेशनको राजनीति नगर्न चेतावनी
कांग्रेस पदाधिकारी र पूर्व-पदाधिकारीहरू नियमित कि विशेष महाधिवेशन भन्नेमा ध्रुवीकृत हुँदा ४० बढी केन्द्रीय सदस्यले छुट्टै भेला गरेका छन् । शुक्रबार काठमाडौंको एक रेस्टुरेन्टमा ८ देखि १ बजेसम्म चलेको भेलामा सहभागी सबै समूहका ४० बढी केन्द्रीय सदस्यले महाधिवेशनका नाममा अनावश्यक राजनीति नगर्न चेतावनी दिएका हुन् ।
छलफलमा सहभागी केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले संकटमा पार्टीमा एकता चाहिँदा महाधिवेशनको नाममा विभाजित हुन नहुने मत राख्नुभएको थियो । सभापति शेरबहादुर देउवा र अन्य समूहका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएको जानकारी दिँदै केन्द्रीय सदस्य हुमागाईँले भन्नुभयो, ‘पार्टीभित्र कुनै समस्या र विवाद भएको अवस्था होइन ।
तर, पदाधिकारी र पूर्व-पदाधिकारीको बैठकमा ठूलो विवाद भएजसरी विषय आयो । अहिले हामी नियमित कि विशेष महाधिवेशन भन्नेमा विवादित हुने समय होइन । लोकतन्त्र, संविधान, व्यवस्था र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने बेलामा कांग्रेस यसरी नियमित र विशेष महाधिवेशनको विवादमा फस्नुहुन्न । पार्टीमा पूर्ण एकता गरेर मुलुकलाई हामीले नै निकास दिनुपर्छ भनेर छलफल गरेका हौँ ।’
महाधिवेशनमा जाने भनेपछि पार्टीमा विवाद छ भनेर हल्ला गरिनु अनुचित भएको उहाँको टिप्पणी छ । भेलामा सहभागी रामहरि खतिवडाले पार्टी संकटमा हुँदा महाधिवेशनको मात्रै रटानमा नेता लागेको भन्दै आपत्ति जनाउनुभयो ।
भेलामा गुरु बराल, मीन विश्वकर्मा, पुष्पा भुसाल, शिवप्रसाद हुमागाईं, उमेश रायमाझी, उदयशमशेर राणा, सीता गुरुङ, रामहरि खतिवडा, राजीव ढुंगाना, नैनसिंह महर, गोविन्द भट्टराई, सीता देवकोटा, सुशीला थिङ, लक्ष्मी खतिवडा, योगेन्द्र चौधरी, जीतजंग बस्नेत, शान्ति परियार, गोमा भट्टराई, राजन केसी, किरण पौडेलसहितका केन्द्रीय सदस्य सहभागी थिए ।




















