काठमाडौं := अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका अन्य युवाहरूलाई पनि सचिवालय तहमा समेट्ने तयारी गरेकी छिन्। गत २७ भदौमा अन्तरिम सरकारको नेतृत्व समालेकी उनले यसअघि दुई पटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छिन्।
नयाँ मन्त्रीमण्डलमा युवा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित चारजनालाई मन्त्रीमा नियुक्त गर्न लागेकी हुन् । श्रेष्ठले हनुमानढोका दरबार, नारायणहिटी दरबार र रानीपोखरी सहितका सम्पदा संरक्षणमा भूमिका निर्वाह गरेका छन्। श्रेष्ठलाई आइतबार मन्त्रीमा नियुक्त गर्न लागिएको हो ।
२०७२ को भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंक्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरणविरुद्ध उनले बोल्दै आएका छन् । त्यसकारण उनले पटक(पटक धम्की पाए। भूकम्पका बेला झोछेंको आफ्नै घर भत्काएको अवस्थामा उनी वसन्तपुर क्षेत्रमा पुरातात्विक सम्पदा संरक्षणमा जुटेका थिए।
सडकदेखि अदालतसम्म पुगेर उनले हनुमानढोका निजीकरणविरूद्ध बोलेका थिए । गुठी विधेयकविरुद्धको आन्दोलनमा राष्ट्रिय पहिचान संरक्षक संयुक्त संघर्ष समितिको संयोजकका रूपमा पनि उनी सक्रिय थिए। काठमाडौंको इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथ जात्रा, गाइजात्रा, फागु पूर्णिमा ब्यवस्थित गर्न उनले संयोजनकारी भूमिका खेलेका छन् ।
सम्पदा श्रेष्ठसँगै अरू तीनजना पनि मन्त्री हुनेछन् । जसमा बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम छन् । रामजी रामलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ। चमार समुदायबाट पहिलो डाक्टर बनेका राम कलेज शुल्क विवादका कारण चर्चामा आएका थिए ।
गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी थालेका छ्न । गुप्ता कोभिड-१९ को समयमा निःशुल्क खाना अभियान सञ्चालन गर्ने युवा अभियन्ता हुन्। उनले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० विद्यार्थीलाई निःशुल्क पढाइरहेका छन् र बिरामीका लागि रगत खोज्ने अभियानमा पनि सक्रिय छन्।
त्यसैगरी हुम्लाको लिमि भ्यालीकी टासी ल्हाजोम जलवायु परिवर्तनका मुद्दामा बोल्दै आएकी युवती हुन्। दिल्ली विश्वविद्यालयको हिन्दु कलेजकी स्नातक टासीले हिमाली समुदायका समस्याबारे अन्तर्राष्ट्रिय मञ्चमा समेत आवाज उठाउने गरेकी छिन्। यी चारै जनालाई मन्त्री बनाएर पनि अझै परराष्ट्रसहितका महत्त्वपूर्ण मन्त्रालय खाली छन् ।




















