के मेयर बालेन ‘लुसिफर’को बाटोमा हिंडेको हो ? को हुन ‘लुसिफर’ ?

काठमाडौं:= केही दिनअघि लेखक तथा राजनीतिक विश्लेषक सौरभले एउटा टेलिभिजन अन्तर्वार्तामा काठमाडौँ महानगरका मेयर बालेनलाई ‘लुसिफर’ भने। जनतामाझ खुलेर नआउने, सार्वजनिक रूपमा हरहमेशा लगाउने कालो चस्मा र कालै रंगको पोसाकमा देखिने शैली र बानीलाई औंल्याउँदै सौरभले स्पष्ट नाम नकिटीकन बालेनलाई लुसिफरसँग दाँजे ।

अन्तर्वार्ताका क्रममा उनले बालेनलाई ‘कालो ऊर्जा’को स्रोत भन्दै एक ठाउँमा ‘लुसिफर ब्युझिँन लागेको हो ?’ भनेका थिए। उनको यो अन्तर्वार्ता प्रसारण भएपछि सामाजिक सञ्जालमा बालेन नै लुसिफर हुन् भन्ने खालका पोस्टको बाढी नै आयो। सिंहदरबारमा ‘त्यस्सै’ आगो नलागेको सौरभको भनाइ थियो ।

उनले यसो भनिरहँदा कुनै बेला ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने बालेनको अभिव्यक्तिसँग धेरैले जोडेका थिए, संयोगवश जेनजी आन्दोलनका क्रममा सिंहदरबार पनि जल्यो । आन्दोलनमा बालेनबाट धेरैले आशा गरेका थिए । त्यसपछि उत्पन्न राजनीतिक संकटमा बालेनले नेतृत्व लिन्छन् कि भन्ने धेरैले आशा गरेका थिए ।

तर बालेन अघि सरेनन् अनि रुष्ट जनतालाई सौरभको सो उपमा सायद चित्त बुझ्यो । हालैका दिनमा सामाजिक सञ्जालमा बालेनलाई अनफलो गर्ने अनि उनको पोस्टमा नकारात्मक टिप्पणी आउने क्रम निकै बढेको छ । धेरैले बालेनलाई ‘अराजक’ अनि ‘रहस्यमयी’ भनेर बुझिरहेकै समयमा सौरभको उक्त उपमाले ‘आगोमा घ्यु’को काम गरेको छ ।

आखिर काे हुन् त लुसिफर ?

पश्चिमी सभ्यतामा लुसिफर भनेको सैतान (दानव) हुन् । सौरभले बालेनसँग तुलना गरेको लुसिफर को हुन् ? उनी कसरी देवबाट दानव बने ? ल्याटिन भाषामा लुसिफरको अर्थ ‘उज्यालो ल्याउने’ वा ‘बिहानीको तारा’ भन्ने हुन्छ । क्रिश्चियन धर्मग्रन्थमा लुसिफरलाई पतित स्वर्गदूत र दानव भनेर चित्रण गरिएको छ ।

कुनै समय लुसिफर सुन्दर, शक्तिशाली स्वर्गदूत थिए । स्वर्गमा पनि उनको स्थान उच्च थियो । सौन्दर्य, शक्ति र बुद्धिमा उनी श्रेष्ठ थिए । तर आफ्ना यिनै कुरामा घमण्ड गरेर लुसिफरले आफूलाई ईश्वरको बराबरीमा राख्न खोजे । उनको यही चाहना स्वर्गमा विद्रोहको कारण बन्यो ।

लुसिफरको विद्रोहले स्वर्गमा द्वन्द्व निम्त्यायो । परम्परागत कथनअनुसार उनले स्वर्गका अन्य देवदूतलाई पनि आफ्नो साथमा ल्याएर र ठुलो विद्रोहको नेतृत्व गरे । ईश्वरले यो विद्रोहलाई पाप माने र लुसिफरलाई स्वर्गबाट खसालिदिए । उनी ‘फलन एन्जल’ अर्थात् पतित स्वर्गदूत बने ।

स्वर्गबाट खसालिएपछि लुसिफर नर्कमा पुगे । यहाँ उनले सैतानको रूप लिए । सैतानको स्वरूपमा लुसिफरले मान्छेलाई पथभ्रष्ट गर्ने, पाप कार्यतिर आकर्षित गर्ने, एडम र इभलाई वर्जित फल खान प्रेरित गर्ने सर्पलाई पनि लुसिफरको एक रूप मानिन्छ ।

लुसिफरको कथा केवल धार्मिक दृष्टिकोणबाट मात्र होइन, सांस्कृतिक र मनोवैज्ञानिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ । धेरै संस्कृतिमा यो कथालाई अहंकार र पतनको प्रतीक मानिन्छ । लुसिफरको विद्रोहलाई आत्मचिन्तनको प्रारम्भिक बिन्दु मानिन्छ ।

जहाँ एक प्राणीले आफ्नो अस्तित्वको सीमालाई पार गर्न खोज्छ र परिणमस्वरूप पतन हुन्छ । लुसिरफरको कथाले शक्ति, सौन्दर्य, र बुद्धिलाई नियन्त्रणमा राख्न सकिएन भने यो आफ्नै लागि कसरी खतरा बन्न सक्छ भन्ने पाठ पनि पढाउँछ ।

–एजेन्सीको सहयोगमा