क्वालालम्पुर (मलेसिया):= यहीँ सेप्टेम्बर ०६ तारिख सोमबार साझ क्लाङ र काजाङमा लाग्ने रात्रिकालीन बजार ” पासार मालाम”मा मलेसियाली अध्यागमन विभाग “इमिग्रेशन” द्वारा गरिएको छापामारीमा ९७ जना विदेशी कामदारहरूलाई पक्राउ गरिएको छ ।
विभाग (JIM) का महानिर्देशक दातुक जकारिया शाबानले एक विज्ञप्तिमा उक्त पासार मालाममा विदेशीहरू, विशेष गरी अवैधानिक आप्रवासीहरू दैनिकी चाहिने सर-सम्मान खरिद गर्न आउने गरेको सूचनाका आधारमा छापामारी गरिएको बताए ।
महानिर्देशक जकारियाको अनुसार “छापामा, स्थानीय र विदेशी नागरिकहरू गरि कुल ८८४ व्यक्तिहरूको जाँच गरिएको थियो,जसमा अध्यागमन ऐन १९५९/६३ (ऐन १५५) को धारा ६(१)(ग) र धारा १५(१)(ग) अन्तर्गत विभिन्न अपराध र अध्यागमन कानुन उलंघन गरेको आशंकामा १८ देखि ६२ वर्ष उमेरका ७२ पुरुष र २५ महिला सहित जम्मा ९७ विदेशी नागरिकहरूलाई पक्राउ गरि हिरासतमा राखिएको बताए ।”


अध्यागमनका अनुसार, मलेसियामा सरकारको अनुमति बिना ब्यापार-व्यवसाय गर्ने, ओभरस्टे रहेको वा भिसाको दुरुपयोग गर्ने कुनै पनि विदेशी नागरिकसँग अध्यागमनले सम्झौता नगर्ने स्पष्ट पारेका छ्न। गैरकानूनी आप्रवासीहरूलाई रोजगार दिने वा संरक्षण गर्ने कुनै पनि पक्षविरुद्ध पनि कडा कारबाही गरिने जनाएको छ ।




















