काठमाडौं := सामाजिक सञ्जालमा सोमबार दिउँसोबाट एकाएक ह्यासट्याग अभियान चल्यो – एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक । गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका अगुवाहरुले तत्कालीन सत्ता प्रमुख र त्यसमा जोडिएकालाई पक्राउ गर्न अभियान सुरु गरे ।
जेनजी अगुवाहरुले क्रमशः दबाबमूलक पोस्ट गरेपछि यो सामाजिक सञ्जालमा भाइरल बन्यो । अघिकांशले यसलाई पछ्याउन खोज्दा सामाजिक सञ्जालमा ट्रेन्डको रुपमा नै चल्यो । यसरी पोस्ट गर्ने सबैको गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहाती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने माग छ ।
‘अधिकार माग्न गएका निहत्था विद्यार्थीमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ जेनजी अगुवा रक्षा बमले लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरुमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’
त्यस्तै, जेनजी अगुवा युजन राजभण्डारीले रक्षा बमको पोस्ट सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘हरेक गोलीको हिसाब हुनेछ । एरेस्ट केपी ओली ।’ जेनजी अगुवाको रुपमा देखिएका हामी नेपालका संयोजक सुदन गुरुङले पनि तत्कालीन सत्तामा रहेकाहरुलाई एरेस्ट गरेर अनुसन्धान गरिनुपर्ने भन्दै पोस्ट गरेका छन् । सुदन गुरुङले एरेस्ट केपी ओली, रमेश लेखक लेखिएको ग्राफिक्स सेयर गर्दै उनीहरुलाई हत्याराको संज्ञा दिएका छन् । ‘डु अर डाइ फर दी नेसन । लेट दी ट्रेन्ड बिगन…,’ उनले लेखेका छन् ।
यसरी अन्य जेनजी अभियान्ता र सर्वसाधारणले पनि यो ट्रेन्ड पछ्याउँदै गएको देखिन्छ । सबैको तर्गेटमा केपी ओली रहेपनि कतिपयले सँगसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्नुपर्ने भन्दै ह्यासट्याग अभियानमा जोडिएका छन् । टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालको अल्गोरिदमले पनि यो खाले कन्टेन्टलाई बल दिइरहेको हुन्छ ।
ह्यासट्याग अभियान चलाइरहेकाहरुका अनुसार जेनजी आन्दोलनको पहिलो दिनको प्रदर्शनमा राज्यले बर्बरतापूर्वक विद्यार्थीहरूको हत्या गरेको भन्दै उक्त घटनाको छानबिन गर्न र तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गर्न उनीहरूले दबाब दिएका हुन् ।




















