भारतको लद्दाकमा पनि जेन जी युवा,युवतीद्वारा प्रदर्शन, भाजपा कार्यालयमा तोडफोड र आगजनी।

एजेन्सी := नरेन्द्र मोदी सत्ताले संविधान संशोधन गरेर विशेष राज्यको सुविधा खोसेर केन्द्र प्रशासित बनाएको लद्दाखमा युवा आन्दोलन भड्किएको छ । लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग राख्दै पर्यावरणविद् र सामाजिक कार्यकर्ताले २ सातादेखि अनसन जारी राखेका थिए । अनसनमा बसेका सोनम वाङचुककको समर्थनमा निस्केका हजारौं मान्छे सडकमा उत्रिएर लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरेका थिए ।

युवा प्रदर्शनकारी र प्रहरीबीच झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु भएको इन्डिया टूडेले उल्लेख गरेको छ । घटनामा कम्तीमा ७० जना घाइते भएका समाचारमा उल्लेख छ । समाचार एजेन्सी पीटीआईका अनुसार प्रदर्शनकारीले सत्तारुढ भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका छन् । अहिले लेह र लद्दाखको अवस्था तनावग्रस्त रहेको छ । हजारौंको संख्यामा युवाहरु सडकमा उत्रिएपछि परिस्थिति भड्किएको छ ।

सोनमले हिंसाको बाटो नलिन युवालाई आह्वान गरेका छन् ।प्रदर्शनकारीले भाजपाको कार्यालय जलाएर झण्डा फालेका थिए । उनीहरुले प्रहरीका गाडीमा पनि तोडफोड र आगजनी गरेका छन् । जेनजी आन्दोलन आफ्नो कारण नभएर सरकारले गरेको उपेक्षा र बेरोजगारीका कारण भड्किएको सोनमले बताएका छन् ।

यसअघि जम्मु कश्मिर राज्यमा रहेको लद्दाख एक हिमाली पर्यटकीय क्षेत्र हो । २०१९ मा मोदी दोस्रोपटक प्रधानमन्त्री भएपछि संविधान संशोधन गरेर लद्दाखलाई केन्द्र प्रशासित बनाएका थिए भने कश्मिरको विशेषाधिकार पनि खोसेका थिए । त्यसयता भित्रभित्रै त्यहाँका नागरिक आन्दोलित थिए ।