पेरिस:= फ्रान्सका फरवार्ड एवं फ्रेन्च क्लब (पिएसजी)का फरवार्ड ओस्मान डेम्बेलेले बालोन डि’ओर २०२५ अवार्ड जित्नुभएको छ । सोमबार राती भएको समारोहमा च्याम्पियन्स लिग विजेतासमेत रहनुभएका डेम्बेलेले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जित्नुभएको हो ।
पहिलोपटक बालोन डि’ओर जित्नुभएका डेम्बेलेले पिएसजीबाट सन् २०२४-२५ को च्याम्पियन्स लिग जित्नुका साथै लिगमा पनि ३७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । पेरिसको प्रसिद्ध शातलिये थिएटरमा आयोजित भव्य कार्यक्रममा ब्राजिली महान् स्टार रोनाल्डिन्होको हातबाट उहाँले ट्रफी ग्रहण गर्नुभयो ।
१२ किलो तौलको सुनले बनेको अनमोल ट्रफी हातमा परेपछि सधैं शान्त स्वभावमा देखिने डेम्बेले भावुक बन्नुभयो । उहाँ यो अवार्ड जित्ने छैटौँ फ्रेन्च खेलाडी हुनुहुन्छ । यसअघि रेमन्ड कोपा, मिचेल प्लाटिनी, जियान पियरी पपिन, जिनेदिन जिदान र करिम बेन्जेमाले यो अवार्ड हात पारेका थिए ।
लिग वानमा २१ गोलसहित संयुक्त शीर्ष स्कोरर बन्नुभएका उहाँ च्याम्पियन्स लिग तथा फ्रेन्च लिग दुवैमा ‘प्लेयर अफ द इयर’ बन्नुभएको थियो । यस उपलब्धिलाई असाधारण भन्दै उहाँले पिएसजी, प्रशिक्षक, टोलीका साथी र परिवारलाई धन्यवाद दिनुभयो । ‘यो ट्रफी व्यक्तिगत भए पनि यसलाई हामी सबैले सँगै जितेका हौं,’ उहाँले भन्नुभयो ।
महिलातर्फको बालोन डि’ओरको अवार्ड भने लगातार तेस्रोपटक स्पेनकी एइताना बोनमतीले जित्नुभयो । उहाँ स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै आएकी फरवार्ड हुनुहुन्छ । यस्तै, स्पेन राष्ट्रिय टोली तथा स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामियन यमालले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्नुभएको छ ।
महिलातर्फको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनकै भिकी लोपेजले जित्नुभयो । च्याम्पियन्स लिग विजेता पिएसजी वर्ष उत्कृष्ट पुरुष टोली घोषित हुँदा पिएसजीकै प्रशिक्षक लुइस एनरिके उत्कृष्ट प्रशिक्षक तथा पिएसजीबाटै च्याम्पियन्स लिग जित्नुभएका जियानलुजी डोनारुमा उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो ।
महिलातर्फको वर्ष उत्कृष्ट टोलीको अवार्ड आर्सनलले प्राप्त गर्यो । त्यस्तै, उत्कृष्ट स्ट्राइकरको अवार्ड स्विडेनका भिक्टोर ग्योकेरेसले जित्नुभयो । महिलातर्फ उत्कृष्ट स्ट्राइकरको अवार्ड पोल्याण्डकी इवा पाजोरले जित्नुभयो । पिएसजीलाई ट्रेबल दिलानुभएका प्रशिक्षक लुइस एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो ।
टोलीलाई ऐतिहासिक ट्रेबल जिताएबापत उत्कृष्ट प्रशिक्षक घोषित हुँदै उहाँले ‘योहान क्रुइफ ट्रफी’ प्राप्त गर्नुभयो । फ्रान्सेली पत्रिका फ्रान्स फुटबलले एनरिकेलाई पुरुष फुटबलतर्फ वर्षको उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो । एनरिकेले यस अवार्डका लागि बार्सिलोनाका हान्सी फ्लिक, लिभरपुलका आर्ने स्लट, चेल्सीका एन्जो मारेस्का र नापोलीका अन्टोनियो कन्टेलाई पछि पार्नुभयो ।
उहाँको नेतृत्वमा पिएसजीले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग जितेको थियो । त्यससँगै टोलीले लिग १, फ्रेन्च कप र फ्रेन्च सुपर कपसमेत जितेर अभूतपूर्व उपलब्धि हासिल गर्यो । पिएसजी यो उपलब्धि हासिल गर्ने पहिलो फ्रान्सेली क्लब बनेको हो । यता महिलातर्फको वर्ष उत्कृष्ट टोलीको अवार्ड आर्सनलले प्राप्त गर्दा सरिना विग्म्यान (इंग्लिस महिला राष्ट्रिय टोली) उत्कृष्ट प्रशिक्षक बन्नुभयो । एजेन्सी