कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरू, देउवालाई हटाउने प्रयास।

काठमाडौं := नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरू गरिएको छ । सोमबारबाट १०९ जना महाधिवेशन प्रतिनिधिहरूले विषेश महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरू गरेका हुन् ।

कांग्रेस नेता गुरूराज घिमिरे, देवराज चालिसे, जनकराज गिरीसहित १०९ जना महाधिवेशन प्रतिनिधिहरूले सोमबार नै विशेष महाधिवेशन मागेर विज्ञप्ति जारी गरेका छन् । हस्ताक्षर अभियानमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्य भने जोडिइसकेका छैनन् ।

कांग्रेसको संस्थापन इतर समूह यो अभियानलाई देशव्यापी बनाउन लागि परेको छ । पछिल्लो केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन प्रस्ताव राखेका थिए । सो प्रस्तावमा सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेताहरूले विरोध गरेका थिए ।

कांग्रेसमा केन्द्रीय सदस्यमध्ये ४० प्रतिशत र महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशतले हस्ताक्षर गरी माग गरेमा सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

२४ भदौमा जेन–जीको आन्दोलनको क्रममा निवासमै कुटिएका देउवा तत्काल पद छाडिहाल्ने मनस्थितिमा छैनन् । प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका उनी सैनिक अस्पतालमा उपचाररत छन् । उनीहरूले विषम परिस्थितमा साथ दिन भन्दै पार्टीका नेताहरूलाई फोन गरिरहेका छन् ।

पार्टीलाई अहिलेको दुरावस्थाबाट निकालेर समयसापेक्ष प्रभावकारी बनाउन जिम्मेवारीबोध गरी विधानको धारा १७ २ अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह पनि गरिएको छ ।