आज (सोमबार)देखि २०८२ सालको बडादशैँ सुरु, घटस्थापना गरेर जमरा राखिँदै।

काठमाडौं := आज (सोमबार)देखि २०८२ सालको बडादशैँ सुरु भएको छ। बडादशैँको पहिलो दिन आज घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिँदै छ । घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँघर वा पूजा कोठामा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी नौ दिनसम्म देवी दुर्गालाई विभिन्न नामले पुकारेर पूजा आराधना गरिन्छ ।

घटस्थापनाका दिन जमरा राखिने भएकाले यो दिनलाई कतिपयले जमारे औँसी पनि भन्ने गरेका छन् । आजैका दिनबाट नवरात्रि प्रारम्भ भएको छ । आजदेखि विजया दशमीको अघिल्लो दिनसम्मलाई नवरात्रि भन्ने गरिन्छ। आज घटस्थापनाको शुभसाइत बिहान ९ बजेर १३ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

सोही समयमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ । काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा पनि वैदिक विधिपूर्वक शुभ साइतमा जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रिको पूजा आरम्भ गर्ने गरिन्छ ।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक मकै, गहुँ र जौ रोपिन्छ र सर्वऔषधी, पञ्चरत्न र सप्तमृतिका लगायत विभिन्न साम्रगी राखेर नौ दिनसम्म पूजा गरिन्छ । यसरी नौ दिनसम्म पूजा गरेको जमरा विजयादशमी अर्थात् टीकाको दिन लगाउने गरिन्छ ।

घटस्थापनाका दिन विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूप दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिएको हो । नौ दिनसम्म भगवती दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत राक्षसलाई बध गर्न लिएका नौ रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजा आराधना हुन्छ ।

गाउँ घरतिर जमरा राख्नु अगाडि नै आफ्नो घरलाई रातो माटो र कमेरोले लिपपोत गरेर सिंगार्ने चलन छ भने सहरमा आधुनिक रङको प्रयोग गरेर घर सिँगारिने गरिन्छ। घटस्थापनाको दिनदेखि दुर्गा सप्तशती चण्डी पाठ पनि गरिन्छ। आज राखिएको जमरा देवीको प्रसादका रूपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।

दशैँको पूर्णिमासम्म जमरा लगाइने गरिन्छ । पूर्णिमाको दिन बेलुका जमरालाई खोला वा तलाउमा गलेर विर्सजन गरिएपछि दशैँ समाप्त गरिन्छ । यस वर्षको बडादशैँको टीकाको साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा परेको छ । नेपाल पाञ्चांग निर्णायक विकास समितिका अनुसार, बडादशैँको मुख्य दिन मानिने टीकाको साइत सो समयमा ग्रह, नक्षत्र र ज्योतिषीय गणनाअनुसार उत्तम मानिएको हो ।