नेपाली सेना र जेनजी समूहबीच हिजो स्थगित भएको वार्ता आज फ़ेरि बस्ने।

काठमाडौं := नेपाली सेना र जेनजी समूहबीच स्थगित भएको वार्ता आज बस्ने भएको छ । बुधबार तोकिएको छलफल जेनजी पक्षभित्रै नेतृत्व कसले गर्ने भन्ने विवादमा अल्झिँदा टरेको थियो । सेनाले भने जेनजी समूहलाई आन्तरिक सहमति जुटाएर वार्तामा आउन आग्रह गर्दै आएको थियो ।

जंगी अड्डामा भएको मतभेदका कारण हिजो सम्भव नभएको वार्ता आजका लागि सारिएको हो । जेनजी समूहले वार्तामा सहभागी हुने नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेको छ । काठमाडौं महानगरपालिका का मेयर बालेन शाहले अन्तरिम सरकार गठनका लागि राष्ट्रपति समक्ष आग्रह गरेका छन् । उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारको नेतृत्वका लागि आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारेका छन्।

शाहले कार्कीको नाममा आएको प्रस्तावलाई नेपालीहरूको परिपक्वता र सुझबुझको परिचायक भन्दै सम्मान प्रकट गरेका छन् । उनले हतारमा नेतृत्व लिन चाहनेहरूलाई पनि सन्देश दिँदै जोश र इमानदारीताले स्थायी भूमिकामा देखिनुपर्ने बताएका छन् । राष्ट्रपतिलाई सम्बोधन गर्दै उनले जेनजीले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न तत्काल संसद् विघटन गर्न पनि माग गरेका छन् ।

प्रधानसेनापति सिग्देलले बुधबार अभियन्ता दुर्गा प्रसाईंसँग पनि छलफल गरेका थिए । साथै धरान उपमहानगरपालिका का प्रमुख हर्कराज साम्पाङ राईले पनि सैनिक मुख्यालय पुगेर प्रधान सेनापति सिग्देलसँग संवाद गरेका थिए । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शनमा जेनजी आन्दोलन सुरु भएदेखि हालसम्म ३० जनाको ज्यान गइसकेको छ भने एक हजारभन्दा बढी घाइते उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।