काठमाडौं := नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ । बिहान १० बजेसम्म सेनाले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका भौतिक संरचनामा लागेको आगो नियन्त्रणका लागि तीन वटा वारुण यन्त्रको प्रयोग गरिएको छ ।
गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ ।काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।
सेनाको विशेष सुरक्षा र सक्रियता
नेपाली सेनाले देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल नेपाली सेनाको मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाटसएप वा भाइबरमा एसएमएस पठाई सहयोग गर्न सेनाले अनुरोध गरेको छ ।
सुरक्षा निकाय पुग्नुअघि स्थानीय समुदायले एकजुट भई निगरानी गर्ने र घटनाबारे सही सूचना आदानप्रदान गरी आफ्नो टोलछिमेक सुरक्षित राख्न सेनाले आह्वान गरेको छ ।केही व्यक्तिले सामाजिक सञ्जालमार्फत भ्रामक र अतिरञ्जित सूचना फैलाउन खोजेकाले यस्ता गतिविधिलाई बेवास्ता गरी केवल सही सूचना संप्रेषण गर्न सेनाको आग्रह छ ।
नेपाली सेना लगायत अन्य सुरक्षा निकाय शान्ति सुरक्षा र अमनचयन कायम गर्न चौबीसै घण्टा खटिइरहेको सेनाले प्रष्ट पारेको छ । नेपाली सेनाले यस्ता चुनौतीपूर्ण परिस्थितिमा नागरिक सचेतना र सहकार्य अत्यन्त जरुरी रहेको भन्दै, सामुदायिक एकता र सही सूचना प्रवाहले सुरक्षालाई थप सबल बनाउने विश्वाससमेत व्यक्त गरेको छ ।





















