छैटौँ विश्वकप खेल्ने लक्ष्यतर्फको यात्रामा ४० वर्षिय रोनाल्डोको धमाकेदार खेल सुरु।

लण्डन:= पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले छैटौँ विश्वकप खेल्ने लक्ष्यतर्फको यात्रालाई धमाकेदार रूपमा सुरु गर्नुभएको छ । ४० वर्षीय स्ट्राइकरले शनिबार राती दुई गोल गर्दै पोर्चुगललाई आर्मेनियामाथि पाँच-शून्यको ठूलो जित दिलाउनुभयो । जितसँगै पोर्चुगलले फिफा विश्वकप युरोपियन छनोटमा विजयी सुरुवात गरेको छ ।

सँगै उहाँले अन्तर्राष्ट्रिय फुटबलमा पुरुषतर्फकै सर्वाधिक गोलकर्ता भएको आफ्नै कीर्तिमानलाई १४० गोलसम्म पुर्‍याउनुभएको छ । करिअरको अन्तिम चरणतर्फ अघि बढिरहे पनि नयाँ कीर्तिमान बनाउने उहाँको उत्साह अझै कम भएको छैन । भाज्गेन सार्गस्यान रिपब्लिकन रंगशालामा भएको खेलमा रोनाल्डोले दुवै हाफमा एक-एक गोल गर्नुभयो ।

दोस्रो गोल उहाँले करिब २५ मिटर टाढाबाट शक्तिशाली प्रहारमार्फत् गर्नुभएको थियो । पोर्चुगलका लागि जोआओ फेलिक्सले पनि दुई गोल गर्नुभयो । पहिलो गोल उहाँले खेल सुरु भएको १० मिनेटमै गर्नुभएको थियो । जोआओ कान्सेलोले पनि स्कोरसिटमा नाम लेखाउनुभयो ।

हालै उहाँले साउदी अरबको क्लब अल-नासरसँग नयाँ सम्झौता गर्नुभएको छ । गत वर्ष उहाँले पोर्चुगललाई युरोपियन नेसन्स लिगको उपाधि पनि जिताउनुभएको थियो ।तर, विश्वकप भने अझै उहाँको हातमा पर्न नसकेको मुख्य उपाधि हो । यो कारणले उहाँ सन् २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपलाई सम्भवतः आफ्नो अन्तिम अवसरका रूपमा खेल्ने अपेक्षा छ ।

त्यतिबेला उहाँको चिरप्रतिद्वन्द्वी लिओनल मेसीले पनि छैटौँ विश्वकप खेल्नुहुनेछ । जुलाईमा कार दुर्घटनामा निधन भएका डिएगो जोटा र उहाँका भाइ आन्द्रे सिल्भाको सम्झनामा खेल सुरु हुनुअघि एक मिनेट मौनधारण गरिएको थियो ।

त्यस्तै, इंग्ल्याण्डले पनि आफ्नो छनोट यात्रामा शतप्रतिशत नतिजा कायम राखेको छ । भिला पार्कमा भएको खेलमा थमस टुचेलको टिमले एन्डोरामाथि दुई-शून्यको जित निकालेको हो । यही समूहको अर्को खेलमा आयरल्याण्ड र हंगेरीले दुई-दुईको बराबरी खेले । एजेन्सी