विश्वकप फुटबल-२०२६: सन् २०२२ को नायक मोरक्को फेरि छनोट,१७ टोलीको टुंगो।

न्युयोर्क:= विश्वकपको मिति नजिकिँदै गर्दा विभिन्न महादेशमा छनोट प्रतियोगिताहरू पनि अन्तिम चरणमा पुगेका छन् । हालसम्म आगामी विश्वकपमा सहभागी हुने ४८ मध्ये १७ टोलीको टुंगो लागिसकेको छ । अमेरिका, मेक्सिको र क्यानडाले आयोजकका रूपमा स्वतः सहभागिता जनाउनेछन्।

यसका अतिरिक्त एसियाबाट अस्ट्रेलिया, इरान, जापान, जोर्डन, दक्षिण कोरिया र उज्बेकिस्तानले आगामी विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । त्यसमध्ये दक्षिण कोरिया १२औँ, जापान आठौँ, अस्ट्रेलिया र इरान सातौँ पटक विश्वकपमा छनोट भएका हुन् । जोर्डन र उज्बेकिस्तानले भने पहिलोपटक विश्वकपमा स्थान पक्का गरेका हुन् । त्यसमध्ये दक्षिण कोरिया सन् २००२ मा आयोजित विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।

यसैगरी, अफ्रिकी महादेशबाट मोरक्कोले आगामी विश्वकपमा स्थान पक्का गरिसकेको छ । अफ्रिकाबाट आगामी विश्वकपमा छनोट हुने मोरक्को पहिलो राष्ट्र पनि बनेको छ । विश्वकपमा मोरक्कोको यो सातौँ सहभागिता हुनेछ । मोरक्को लगातार तेस्रोपटक विश्वकपमा छनोट भएको हो । सन् २०२२ मा आयोजित कतार विश्वकपमा मोरक्को सेमिफाइनलसम्म पुगेको थियो ।

यसैगरी, दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे र उरुग्वे आगामी विश्वकपमा छनोट भइसकेका छन् । अर्जेन्टिना विश्वकपको साबिक विजेता पनि हो । विश्वकपमा अर्जेन्टिनाको यो १९औँ सहभागिता हुनेछ । अर्जेन्टिनाको विश्वकपमा यो लगातार १४औँ सहभागिता पनि हो । अर्जेन्टिनाले सन् १९७८, सन् १९८६ र सन् २०२२ मा उपाधि जितेको छ ।

ब्राजिलको भने विश्वकपमा यो २३औँ सहभागिता हुनेछ । अर्थात् ब्राजिलले हरेक संस्करणमा भाग लिँदै आएको छ । ब्राजिलले हालसम्म सर्वाधिक पाँचपटक विश्वकप जितेको छ।पाराग्वेको भने विश्वकपमा यो नवौँ सहभागिता हो । कोलम्बियाको सातौँ र इक्वेडरको पाँचौँ सहभागिता हो । उरुग्वेको भने यो विश्वकपमा यो १५औँ सहभागिता हो ।

उरुग्वे लगातार पाँचौँपटक विश्वकपमा छनोट भएको हो । उरुग्वे दुईपटकको विश्वकप विजेता पनि हो । यसैगरी, ओसेनिया क्षेत्रबाट न्युजिल्याण्डले पनि आगामी विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ । विश्वकपमा न्युजिल्याण्डको यो तेस्रो सहभागिता हो । न्युजिल्याण्डले यसअघि सन् १९८२ र सन् २०१० मा विश्वकप खेलेको थियो । तर, न्युजिल्याण्ड विश्वकपमा समूह चरणभन्दा अगाडि बढ्न सकेको छैन ।

आयोजकका रूपमा विश्वकप खेल्न लागेका तीन राष्ट्रको उपलब्धि पनि खासै गतिलो छैन । क्यानडाले तेस्रोपटक विश्वकप खेल्न लागेको हो । क्यानडा यसअघि सन् १९८६ र सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो । अमेरिकाले १२औँ पटक विश्वकप खेल्न लागेको हो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो सहभागिता हो । सन् १९३० मा आयोजित पहिलो संस्करणमा अमेरिका तेस्रो भएको थियो ।

मेक्सिकोले भने १८औँ पटक पुरुष विश्वकप खेल्न लागेको हो । मेक्सिकोको यो लगातार नवौँ सहभागिता हो । मेक्सिको सन् १९७० र सन् १९८६ मा क्वाटरफाइनलसम्म पुगेको थियो । प्रतियोगिताको प्रारम्भिक चरणमा सहभागी ४८ टोलीलाई १२ वटा समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहमा चार–चार टोली रहनेछन् । प्रत्येक टोलीले आपसमा एक÷एक खेल खेल्नेछन् । त्यसपछि प्रत्येक समूहबाट दुई÷दुई टोली प्रतियोगिताको नकआउट चरणमा पुग्नेछन् ।

यसका अतिरिक्त तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीले पनि नकआउट चरणमा स्थान पक्का गर्नेछन् । दोस्रो चरणमा पुग्ने ३२ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि १६ टोली प्रि-क्वाटरफाइनलमा पुग्नेछन् भने त्यहाँबाट आठ टोलीले क्वाटरफाइनल चरणमा स्थान बनाउनेछन् । क्वाटरफाइनलबाट चार टोली सेमिफाइनलमा र त्यहाँबाट दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल जुलाई १९ तारिखमा अमेरिकाको मेट लाइफ स्टेडियममा खेलाइनेछ ।

फिफा विश्वकपको आगामी संस्करण अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगिता सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म सञ्चालन हुनेछ । प्रत्येक चार वर्षमा आयोजना हुने फिफा पुरुष विश्वकपको यो २३औँ संस्करण हो । तीनवटा उत्तर अमेरिकी राष्ट्रको १६ वटा शहरमा आगामी विश्वकपका खेलहरू खेलाइनेछ । प्रतियोगिताको मुख्य आयोजक अमेरिका हो भने क्यानडा र मेक्सिको सह-आयोजक हुन् । एजेन्सी