इमिग्रेशनद्वारा क्वालालम्पुर र निलाईमा संचालित वेश्यालय र होस्टेस सिन्डिकेटमा छापामारी , ५८ विदेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसिया अध्यागमन विभाग “इमिग्रेशन”द्वारा पछिल्ला दुई दिनमा क्वालालम्पुर र नेगेरी सेम्बिलानको निलाईमा वेश्यालयमा काम गर्ने होस्टेस सिन्डिकेटलाई पक्राउ गर्ने उदेश्यसहित विशेष अपरेसन,छापामारी सञ्चालन गरेको छ।

अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया साहबानका अनुसार सेप्टेम्बर ५ मा पुतराजयास्थित मुख्यालयको टोलीले राजधानी क्वालालम्पुरस्थित तीनतारे होटलमा छापा मार्दा १९ देखि ६१ वर्ष उमेर समूहका ३७ विदेशी पक्राउ परेका थिए।

पक्राउ पर्नेहरूमध्ये – दुई जना म्यान्मारका पुरुष, एकजना भारतीय, एक इन्डोनेशियाली पुरुष , १७ इन्डोनेशियाली महिला, ९ जना थाइ महिला, ६ जना भियतनामी महिला र एक लाओसकी महिला रहेको विभागले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा कतिपयले भिसाको अवधि नाघेको, प्रवेश अनुमति भिसाको दुरुपयोग गरेको वा वैध कागजात नै नभएको पाइएको छ।

होटललाई वेश्यालयको रूपमा प्रयोग गरी ग्राहकहरूलाई ह्वाट्सएप “WhatsApp” मार्फत वा प्रत्यक्ष उपस्थित भई महिला छनोट गर्ने सुविधा प्रदान गरिएको र दर प्रति घण्टा आरएम २५० देखि आरएम ४०० सम्म तोकेर लिने गरेको खुलेको छ। छापामारीमा वेश्यावृतीको लागि रोजगार सम्झौता र विभिन्न देशका पासपोर्ट पनि बरामद गरिएको छ।

सेप्टेम्बर ६ को मध्यरात नजिकै अर्को छापामारी निलाईस्थित मनोरञ्जन केन्द्रमा सञ्चालन गरिएको थियो। त्यहाँबाट पनि २५ देखि ४० वर्ष उमेरका २१ महिला पक्राउ परेका थिए, जसमा एक जना प्रबन्धक र २० जना होस्टेसका रूपमा काम गर्ने महिला रहेको बताइएको छ।

उल्लङ्घनहरूमा – ८ जनाले भिसा अवधि नाघेका थिए भने १३ जनासँग कुनै वैध कागजात थिएन। सो मनोरञ्जन केन्द्रले हप्ताको अन्त्यतिर मात्र सेवा दिने, म्यान्मारका ग्राहकलाई लक्षित गर्ने र आरएम १५० देखी २५० सम्ममा होस्टेस भाडामा दिने गरेको पाइएको छ।

अध्यागमन विभागले छापा मारिएका दुवै स्थानबाट मोबाइल फोन, लेनदेन अभिलेख र विभिन्न कागजात समेत बरामद गरेको छ। यसबीच, होटल अपरेसनसँग सम्बन्धित सात जना मलेसियाली र निलाई केन्द्रसँग सम्बन्धित छ जना म्यान्मार नागरिकलाई अनुसन्धान सहयोगका लागि नोटिस जारी गरिएको छ।

जकारियाले भने, “विदेशीहरूद्वारा हुने गैरकानुनी गतिविधि, पास दुरुपयोग र भिसा उल्लङ्घन रोक्न विभागले अझ कडा निगरानी र कारबाहीलाई देशब्यापी रुपमा अझै तीव्र बनाउनेछ। यो मलेसिया मदानी सरकारको मूलभूत भावनासँग मेल खान्छ, जसले जनताको सुरक्षालाई प्राथमिकता दिन्छ र कानुनको शासनलाई कायम राख्छ।” एजेन्सीको सहयोगमा