फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल नेपालभित्र बन्द गर्ने निर्णय।

काठमाडौं := सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल नेपालभित्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै तत्काल प्रभावमा लागू हुने गरी निर्देशन दिएको हो ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सरकारले दिएको सात दिनको समय बुधबार राति सकिँदा पाँच वटा मात्रै सञ्जाल—टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ सूचीकृत भएका छन् ।

यसअघि प्रतिबन्ध लगाइएपछि टेलिग्रामले सूचीकरणका लागि निवेदन दर्ता गरेको छ, जसको अध्ययन मन्त्रालयले गरिरहेको छ । सरकारको यो निर्णयसँगै फेसबुक, ह्वाटसएप, इन्टाग्राम लगायतका सामाजिक संजाल निष्क्रिय हुनेछन् । मन्त्रालयले दर्ता हुन नआएका सामाजिक सञ्जालको सूची केही बेरमा सार्वजनिक गर्ने जनाएको छ । यो विषयमा सरकारलाई अदालतको समेत ब्याकअप भएकाले पछिल्लोपटक सूचना जारी गर्दा सरकार कानुनी रुपमा बलियो भएको छ ।

२०८१ असोज १३ गते सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई सूचीकरण गरी नियमनको दायरामा ल्याउनु भन्ने व्यहोराको आदेशको पूर्णपाठ केही दिनअघि मात्रै सार्वजनिक भएको थियो । यसको अर्थ सरकारले सामाजिक सञ्जाल बन्द गर्‍यो र कोही अदालतमा गयो भने सञ्जाल खोल्ने आदेश सामान्य अवस्थामा नआउन सक्छ ।

540982991_752702017654914_6276593426921616685_n