काठमाडौं := राजनीतिक दलहरूले आगामी कात्तिक १७ गते रूपन्देही-३ मा हुने उपनिर्वाचनको आन्तरिक तयारीलाई तीव्र पारेका छन् । ०७९ को आम निर्वाचनमा ठूलो जनमत प्राप्त दलहरू नै आपसी भिडन्तमा उत्रिने र नयाँ दलहरू पनि सशक्त तयारीका साथ अघि बढिरहँदा रूपन्देही–३ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ ।
रूपन्देहीको उपनिर्वाचनको लागि साना र नयाँ दलहरू तीव्र तयारीमा रहे पनि ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र भने मन्द गतिमा छन्। यो उपनिर्वाचन भावी आम निर्वाचनको एक मानकको रूपमा समेत हेरिँदा नयाँ दलहरू तथा स्वतन्त्रहरू भने तीव्र तयारीमै जुटेका छन् । अर्कोतर्फ यो उपनिर्वाचनमा रास्वपा मुख्य आकर्षणको केन्द्र बनेको छ । किनकि सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने रूपन्देही कारागारमै चार महिनाभन्दा बढी बसेका थिए । जसलाई राजनीतिक प्रतिशोध भनेर रास्वपाले व्याख्या गरिरहेको छ ।
उपनिर्वाचनको माहोलले ठूलाभन्दा साना राजनीतिक दलहरूलाई बढी छोएको छ । रूपन्देही-३ मा हुने उपनिर्वाचनका लागि साना दलहरूले धमाधम उम्मेदवार सिफारिश गरिरहेका छन् । तर, ठूला दलहरू अझै अलमलमा देखिएका छन् । रास्वपाले आइतबार साँझ सिद्धार्थनगर नगरपालिका–९ का बासिन्दा न्युरोलोजिस्ट डा.लेखजंग थापालाई उम्मेदवार घोषणा गरिसकेको छ । तर, थापा विवादमा मुछिएका छन् ।
डेढ महिनासम्म आन्तरिक उम्मेदवारी छनोट प्रक्रिया सञ्चालन गरेको रास्वपाले टुंगो लगाएलगत्तै अन्य दलले पनि धमाधम उम्मेदवार सार्वजनिक गर्न थालेका छन् । २०७९ सालको चुनावबाट उदाएको जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चौधरी साउन १८ गते जनमतमा प्रवेश गर्नुभएको थियो । त्यसअघि उहाँ नागरिक उन्मुक्ति पार्टीमा हुनुहुन्थ्यो ।
२०७९ को प्रतिनिधिसभा चुनावमा चौधरी नाउपाबाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार हुनुहुन्थ्यो । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले उपनिर्वाचनको उम्मेदवारका लागि पार्टी महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिश गरेको छ । भुसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बन्नुभएको थियो ।
आन्तरिक विवादले गुज्रिरहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट भने दुईजना उम्मेदवार उठ्ने सम्भावना देखिएको छ । पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले छुट्टाछुट्टै उम्मेदवार उठाउने तयारी गरेका छन् । यद्यपि, नाउपा निर्वाचन आयोगमा दर्ता छैन । संरक्षक चौधरीले उमाशंकर चौधरीको नाम टुंगो लगाउनुभएको छ । अध्यक्ष श्रेष्ठले डा.सरोज चौधरीलाई उठाउने तयारी गर्नुभएको छ ।
राप्रपाले एक महिनाअघि नै उम्मेदवारका लागि ६ जनाको नाम सिफारिश गरेको थियो । निवर्तमान सांसद दीपक बोहोराका छोराद्वय गौरव र प्रज्वल तथा दिलीपकुमार मल्लिकको नाम सिफारिश गरेको थियो । राप्रपाबाट दीपक बोहोराका जेठा छोरा गौरवले निर्वाचनमा आएर कार्यकर्ता भेला र भेटघाट गरिरहेका छन् ।
धेरै जनाले दाबी गरेका कारण निर्वाचनका क्रममा मनमुटावको जोखिम देखिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एक साताअघि पार्टी केन्द्रीय कार्यालयमा सबै आकांक्षीलाई एकजुट गराएर जो उम्मेदवार बने पनि एक-अर्कालाई सघाउने सहमति कायम गराउनुभएको छ । एक महिनाअघि आफ्ना शीर्ष नेताको सहभागितामा चुनावी सभा गरिसकेको संघीय लोकतान्त्रिक मोर्चा अहिले उम्मेदवारको खोजीमा देखिएको छ ।
मोर्चाले रूपन्देही-३ बाट नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, धनीरामलाई जनमत पार्टीले उम्मेदवार घोषणा गरिसकेको छ। स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिले घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन् । आफूलाई काठमाडौं महानगरपालिका प्रमुख बालेन साहका सहयोगीका रूपमा चिनाएका सन्तोष गिरी दुई महिनादेखि घरदैलो र भेटघाटमा व्यस्त रहनुभएको छ ।
तर, ठूला राजनीतिक दलहरूले भने उम्मेदवार चयनलाई महत्व दिएको देखिएको छैन । गत निर्वाचनमा एमाले-राप्रपाबीच चुनावी तालमेल थियो । यसपटक एक्लै चुनावमा होमिने तयारीमा रहेको एमालेबाट प्रारम्भिक रूपमा चारजना आकांक्षी देखिएका छन् । यसपटक पोलिटब्युरो सदस्य खिमलाल भट्टराई प्रमुख दाबेदार देखिएका छन् ।
त्यस्तै, व्यवसायी शशि पौडेल, लुम्बिनी प्रदेश सदस्य हरिप्रसाद अधिकारी र यज्ञजित शाह पनि उम्मेदवारीका लागि आकांक्षी देखिएका छन् । गत निर्वाचनमा उपविजेता कांग्रेसले क्षेत्रीय स्तरमा कार्यकर्ता भेटघाट गरे पनि उम्मेदवारीको टुंगो लगाउन सकेको छैन । गत निर्वाचनमा कांग्रेस नेता बालकृष्ण खाँण उम्मेदवार बन्नुभएको थियो । उपनिर्वाचनको घोषणासँगै खाँण उम्मेदवारमा दोहोरिन सक्ने प्रचार गरिएको थियो । कांग्रेसले उम्मेदवार घोषणा गर्नेभन्दा पनि फिल्डमा पुगेर मतदाताको भावना बुझ्ने काम भइरहेको जनाएको छ ।




















