अध्यागमन विभाग केडाहद्वारा एक कम्पनीमा छापामारी, अवैधानिक विदेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग “इमिग्रेशन” केडाह राज्य (JIM Kedah) ले २० अगस्ट २०२५ को दिन केडाहको कुलिम इन्टरप्राइज क्षेत्रमा रहेको एक कम्पनीमा विशेष अपरेशन सञ्चालन गरि अवैधानिकलाई पक्राउ गरेको छ।

विभागलाई प्राप्त सूचना र गुनासाहरूमाथि आधारित रहेर गरिएको उक्त अपरेशन छापामारीमा ६९५ जना व्यक्तिको विवरण जाँच गरिएको थियो। चेकजाँचको क्रममा ति मध्ये ५७० जना मलेसियाली नागरिक, एक जना अमेरिकी पुरुष, ५१ जना बंगलादेशी पुरुष, ५६ जना नेपाली, १७ जना म्यान्मार नागरिक र ५३ जना चीनका नागरिक समावेश थिए । अध्यागमन विभाग केडाहका निर्देशक मोहद रिज्वान बिन मोहद जैनद्वारा सार्वजनिक प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

छानबिनपछि विभिन्न आप्रवासन ऐन १९५९/६३ र आप्रवासन नियमावली १९६३ उल्लङ्घन गरेको आशंकामा ५२ जना विदेशीलाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये ४८ जना चिनियाँ (३० पुरुष र १८ महिला), ३ जना बंगलादेशी पुरुष र १ जना पाकिस्तानी पुरुष रहेका छन्। सबैलाई थप अनुसन्धानका लागि आव्रजन डिटेन्सन डेपोमा लगिएको छ।

विभागले वैधानिक अनुमति बिना विदेशी कामदार रोजगारी वा संरक्षण गर्ने कसैलाई पनि कुनै सम्झौतामा छुट नदिने र कडा कारवाही गर्ने स्पष्ट चेतावनी दिएको छ। साथै, राज्यभित्रका सबै व्यवसायी र रोजगारदातालाई नियुक्त गरिएका विदेशी कामदारसँग मान्य कागजात तथा पासपोर्ट भएको र तोकिएका शर्तहरू पालना भएको सुनिश्चित गर्न आग्रह गरिएको छ।

अध्यागमन विभाग केडाहले विशेष गरी संवेदनशील क्षेत्र र “हटस्पट” मा निगरानी र कारबाहीलाई थप कडा रूपमा निरन्तर सञ्चालन गर्ने जनाएको छ।