क्वालालम्पुर (मलेसिया):= मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिनाले फिलिपिन्स गणराज्यका राष्ट्रपति महामहिम फर्डिनान्ड आर. मार्कोस जुनियर समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राजदूत डा. तिम्सिनाले १९ अगस्ट २०२५ मा फिलिपिन्सको राजधानी मनिलास्थित मालाकानङ दरबारमा आयोजित विशेष समारोहमार्फत गैरआवासीय राजदूत (असाधारण तथा पूर्णाधिकारी) को रूपमा प्रमाणपत्र बुझाएका हुन्। नेपाल र फिलिपिन्सबीच सन् १९६० फेब्रुअरी १२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।
समारोहमा राजदूतसँगै उनकी श्रीमती मीरा भट्टराई तथा नेपाली दूतावासका काउन्सिलर/उप-प्रमुख मुदिता बज्राचार्यको पनि उपस्थिति थियो। त्यस्तै, फिलिपिन्स परराष्ट्र विभागकी सचिव महामहिम मारिया थेरेसा पी. लाजारो तथा राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरू समेत सहभागी थिए।

प्रमाणपत्र बुझाउने क्रममा राजदूतले नेपालको माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको तर्फबाट राष्ट्रपति मार्कोस जुनियरको सुस्वास्थ्य, खुशी र निरन्तर प्रगतिका साथै फिलिपिन्स जनताको समृद्धिको लागि शुभकामना व्यक्त गरेका थिए। साथै, नेपाल–फिलिपिन्स सम्बन्धलाई व्यापार तथा लगानी, कृषि, पर्यटन र विपद् व्यवस्थापनका क्षेत्रमा अझ मजबुत बनाउन सकिने विश्वास व्यक्त गरेका थिए।
समारोहपछि राजदूत डा. तिम्सिनाले फिलिपिन्सका राष्ट्रिय नायक डा. जोस रिजालको स्मारकमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए। सोही दिन अष्ट्रेलिया, इजरायल र माल्दिभ्स गणतन्त्रका राजदूतहरूले पनि आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए।




















