मलेसियामा पनि वैधानिक रुपमा विवाह गरेका नेपाली-मलेसियन परिवारबीच भेटघाट सम्पन्न।

क्वालालम्पुर (मलेसिया) — नेपाल–मलेसिया अन्तरसांस्कृतिक परिवार संघले मलेसियामा पनि वैधानिक तवरले विवाह गरेर बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीबीच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । मलेसियामै विवाह गरेका नेपाली – मलेसिया ज्वाईं र बुहारीहरुबीच आईतवार राजधानी क्वालालम्पुरमा अवस्थित होटेल ग्रेन्ड कन्टिनेन्टलमा भेटघाट सम्पन्न भएको हो ।

कार्यक्रममा मलेसियाको विभिन्न राज्य र शहरबाट आएका सहभागीहरूले वैवाहिक जीवनका चुनौती, कानुनी प्रक्रिया, सामाजिक समायोजन तथा सांस्कृतिक विविधता व्यवस्थापनबारे विचार राखेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमहरूले दुई देशको परिवारबीच आत्मीयता, विश्वास र सहयोगी भावनालाई बलियो बनाउन टेवा पुग्ने धारणा व्यक्त गरे ।

भेटघाट कार्यक्रमको अवसरमा केसु थापाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ। समितिमा उप–समन्वयक लक्ष्मी पोख्रेल, सदस्यहरू राजु सर्मा, सागर कोइराला, किरण थापा, उमेश प्रसाईं, निलकण्ठ न्यौपाने, सेल्भी बोहोरा, दीपक बोहोरा, इस्वर आले मगर, नेत्र केसी, राकेस प्रसाद महतो, रञ्जित क्षेत्री, अन्जु श्रीमाल, प्रदिप श्रेष्ठ, विक्की अधिकारी , जयप्रकाश गिरि बिनोद पाण्डेलगायतको  रहेका छन् भने संरक्षक सल्लाहकारमा शङ्कर बहादुर पौडेल रहनेछन्।

संयोजक थापाले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै, “मलेसियामा रहेका हाम्रो  पुस्तापछि पनि परिवारलाई नेपालसँग जोड्ने र भाषा–संस्कृति संरक्षण गर्ने लक्ष्यसहित यो पहल गरिएको हो” भने। कार्यक्रम सञ्चालन गरेका रञ्जित क्षेत्रीले अन्तरसांस्कृतिक परिवारबीच सहकार्य र एकताको नयाँ ढोका खुलेकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले व्यक्तिगत अनुभव, सुझाव तथा आगामी दिनमा समुदायलाई अझ संगठित बनाउन सकिने उपायहरूबारे आ-आफ्नो विचार प्रस्तुत गरेका थिए।