कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु।

कुवेत := कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा ६ जना नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे अझै थप विवरण आउन बाँकी रहेको र बुझ्ने काम भइरहेको जनाएको छ ।

विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरूको उपचार भइरहेको दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले बताए। ‘लगभग १०/१५ जना अहिले पनि अस्पतालमा उपचारका क्रममा छन् । केही मृत शवहरू अस्पतालमा छन् भन्ने जानकारी प्राप्त भएको छ , ज्यान गुमाउने अधिकांशमध्य ८ जना भारतीय तथा केही नेपाली नागरिकहरु रहेको जानकारी प्राप्त भएको छ,’ कुवेतस्थित दूतावासका श्रम सहचारी आचार्यले भने ।

तर, मृतकमध्ये ठ्याक्कै कतिजना नेपाली र कुन कम्पनीमा कार्यरत हुन भन्ने बुझ्ने क्रममा रहेको उनले बताए । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले पनि घटनाको पुष्टि गर्दै घटनामा ६ जना नेपाली परेको र थप विवरण प्राप्त गर्न बाकी रहेको जनाएका छन् ।

ज्यान गुमाउनेमा २ जना आदान अस्पतालमा र ४ जना सालबिया क्षेत्रमा कम्पनीकै मजदुर शिविरमा छन् । मृत्यु हुने ६ जना नेपालीमध्ये ५ पुरुष सहित एक जना महिला रहेको पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष राज मल्लले नेपाल प्रेसलाई बताए । उनका अनुसार कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ ।

कुवेती समाचार संस्था कुवेत टाइम्सका अनुसार गत शनिबारदेखि विषाक्त मदिरा पिएर अस्पताल भर्ना हुनेक्रम बढेको हो । विषाक्त मदिरा सेवनका कारण शनिबारयता ६३ जना अस्पताल भर्ना भएको र १३ जनाको मृत्यु भएको त्यहाँको स्वास्य मन्त्रालयले पुष्टि गरेको समाचारमा उल्लेख छ। कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी उत्पादन गरी अवैधानिक रूपमा बेचबिखन हुँदै आएको छ ।

विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसरी समस्यामा परी घाइते भएका ५१ जनाले मिर्गौलाको डायलासिस गरिरहेको र २१ जनामध्ये कसैमा पूर्ण र आंशिक दृष्टिदोष देखिएको छ । यस्तै ३१ जनाको भेन्टिलेसनमा राखेर गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

विषालु रसायनको रूपमा चिनिने मेथालोन उद्योगहरूमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने र सोही पदार्थ मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरूले बताएका छन् । सामान्य मदिरामा पाइने एथानोल मानव उपभोगका लागि प्रयोग हुने भए पनि मेथानोल खाद्य प्रयोजनमा प्रयोग गरिँदैन । मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टिमा समस्या हुने, कोमामा पुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ ।

विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माणाधीन क्षेत्रमा कार्यरत श्रमिक रहेको कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।