काठमाडौं := नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्धित हुनुभएको छ । इत्तिहादले उहाँलाई एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि अनुबन्ध गरेको हो ।
साउन ६ गते नै जोर्डन पुग्नुभएकी राईलाई क्लबले सोमबारमात्र सार्वजनिक गरेको हो । सन् २०१८ मा स्थापना भएको अल इत्तिहाद जोर्डन महिला प्रो लिगको सफल क्लब हो, जसले सन् २०२३ र २०२४ मा लगातार लिग उपाधि जितेको छ । क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्धित हुनुभएको छ ।
गत वर्ष पनि इत्तिहादले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्यो तर यात्रा अघि बढाउन सकेन । यसपटक समूह ‘सी’ मा इत्तिहादसँगै मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिस्तानको सड्युशोर एसआइ एसियागोल रहेका छन् ।
समूह चरणका खेल मलेसियामा हुनेछन् । इत्तिहादले अगस्ट २५ मा लायन सिटीविरुद्ध प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि अगस्ट २८ मा केलाना युनाइटेड र अगस्ट ३१ मा सड्युशोरसँग प्रतिस्पर्धा गर्नेछ । प्रीतिले एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आउनुभएको छ ।




















