क्रिस्टियानो रोनाल्डो र उहाँकी प्रेमिका जर्जिना रोड्रिग्ज औपचारिक रूपमा विवाह बन्धनमा बाँधिदै।

लिस्बोन:= पोर्चुगाली फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी प्रेमिका जर्जिना रोड्रिग्ज औपचारिक रूपमा विवाह बन्धनमा बाँधिने हुनुभएको छ । ३१ वर्षीया रोड्रिग्जले सोमबार इन्स्टाग्राममार्फत् औपचारिक रूपमा आफ्नो इन्गेजमेन्टको घोषणा गर्नुभएको हो । उहाँले आफ्नो औँलामा ठूलो औँठी लागेको फोटो पोस्ट गर्दै स्पेनी भाषामा ‘हो म सहमत छु । यो जीवनमा र मेरा सबै जीवनहरूमा पनि’ भन्ने क्याप्सन लेख्नुभएको छ ।

रोड्रिग्ज र ४० वर्षीय रोनाल्डोका दुई छोरीहरू छन् । उहाँले रोनाल्डोका अन्य तीन सन्तानको पनि हेरचाह गर्दै आउनुभएको छ । यो जोडीले सन् २०२२ मा जन्मेका जुम्ल्याहा सन्तानमध्ये एक छोरा गुमाएका थिए । रोनाल्डो र रोड्रिग्जको भेट सन् २०१६ मा भएको थियो । त्यतिखेर रोड्रिग्ज मड्रिडस्थित गुच्ची स्टोरमा काम गर्नुहुन्थ्यो । रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वस्टार रोनाल्डो हाल साउदी अरबको अल-नासर क्लबबाट खेलिरहनुभएको छ ।

इंग्लिस मिडियाका अनुसार सन् २०२५ मा क्रिस्टियानो रोनाल्डोको कुल सम्पत्ति १.४५ बिलियन डलर छ । रोनाल्डोको आधार तलब करिब २० करोड डलर छ । उहाँले विज्ञापनबाट वार्षिक १५ करोड डलर कमाउनुहुन्छ । सन् २०२२ मा उहाँले साउदी टोलीसँग ६० करोड डलरको सम्झौता गर्नुभएको थियो, जसलाई यो वर्ष २०२७ सम्म थप गरिएको छ । क्लबले रोनाल्डोसँग करिब ६२० मिलियन डलरमा दुई वर्षका लागि सम्झौता गरिसकेको छ । एजेन्सी