मलेसियन अध्यागमनद्वारा एक फ्याक्ट्रीमा गरिएको छापामारीमा नेपाली सहित ३०७ जना पक्राउ।

मलेसिया:= पेनाङस्थित बुकित तामबुनमा रहेको एउटा कारखाना “फ्याक्ट्री”मा मलेसियन अध्यागमन विभाग “इमिग्रेशन”द्वारा गरिएको छापामारी अपरेशनमा ३०७ जना विदेशी कामदारहरू पक्राउ परेका छन्। उनीहरूलाई मलेसिया आप्रवासन ऐन १९५९/१९६३ अन्तर्गत विभिन्न अपराध गरेको पाइएपछि पक्राउ गरिएको हो।

मलेसियन अध्यागमन विभाग “इमिग्रेशन” को नेतृत्वमा बिहान १०:३० बजे सुरू भएको छापामारीमा राष्ट्रिय पञ्जीकरण विभाग (JPN), सेबेराङ पेराइ सिटी काउन्सिल (MBSP) श्रम स्वास्थ्य तथा सुरक्षा विभाग (JKKP) को पनि संयुक्त  सहभागिता रहेको थियो।

विभागका महानिर्देशक दातुक जकारिया शाबान का अनुसार,
फ्याक्ट्री मा काम गर्ने कुल ७४९ जना विदेशी कामदारहरू को जाँच गरिएको थियो, जसमध्ये ३०७ जनामा विभिन्न कानुनी उल्लंघन गरेको ,अवैधानिक हैसियतमा रहेको भेटिएको हो।

उहाँले भन्नुभयो, “धेरैजसोले सफा गर्ने कामको अनुमति (permit) लिएर कारखानामा काम गरिरहेका थिए, जुन अवैध र अध्यागमन कानुन बिपरित हो। अन्य उल्लंघनमा अनुमतिपत्रको दुरुपयोग, अवैध स्थानमा काम, म्याद सकिएको अनुमति पत्र , र वैध यात्रा कागजात नरहेको भेटिएका छन्।”

पक्राउ परेकाहरूमा ३०६ जना बंगलादेशी नागरिक र १ जना नेपाली नागरिक रहेका छन्। उनीहरूको उमेर २० देखि ४० वर्षको बीचमा रहेको छ। उनीहरूलाई थप अनुसन्धानका लागि अवैधानिक आप्रवासन डिपोमा राखिने अध्यागमनले  जनाएको छ ।