क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको नव अध्यक्षमा राकेश प्रसाद महतो “आरके” सर्वसम्मत निर्वाचित भएको छ । यहीँ २७ जुलाई आईतवार राजधानी क्वालालम्पुरमा सम्पन्न नवौं अधिवेशनबाट पुनः सर्वसम्मत अध्यक्ष पदमा राकेश प्रसाद महतो “आरके” नै सर्वसम्मत निर्वाचित भएको हो ।
अधिवेशनमा प्रमुख अतिथिको रूपमा एनआरएनए मलेसियाका पूर्वअध्यक्ष हरिप्रसाद भट्टराई, र विशेष अतिथि संस्थापक अध्यक्ष शंकर बहादुर पौडेल साथै विभिन्न क्षेत्रका अगुवा तथा समाजसेवी , पत्रकारहरूको उपस्थिति रहेको थियो। महतोको नेतृत्वमा आगामी २०२५–२०२७ कार्यकालका लागि २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको हो।

नयाँ कार्यसमिति को अध्यक्षमा राकेश प्रसाद महतो, चार उपाध्यक्षमा क्रमशः राजु तामाङ,नारायण अधिकारी,विनोद पाण्डे,अनिल कुमार चौधरी ,महिलामा उपाध्यक्ष लिला मगर,युवा उपाध्यक्षमा सन्तोष पौडेल,महासचिवमा विष्णु प्रसाद बराल, दुइ सचिवमा क्रमशःउमेश कोइरी महतो,रमेश पौडेल,कोषाध्यक्षमा खेमराज खत्रि,सह–कोषाध्यक्षमा सुरेश कुमार देवकोटा,युवा संयोजकमा राजन हायु राई,महिला संयोजकमा शोभा कुमारी खड्का सदस्यमा क्रमशः हरि बहादुर बस्नेत,कैलाश बिष्ट,रुपेश बि.क,बाबुराम थापा मगर,टिपेन्द्र बुडा मगर,इन्द्र प्रकाश भण्डारी,छेवाङ लामा,चित्र बहादुर थापा,दीपक प्रसाद यादव रहेका छन्।
पछिल्ला केही समय यता संघभित्र देखिएको असन्तुष्टि , विभाजन र आन्तरिक विवादले गर्दा अधिवेशनबारे विभिन्न आशंका र अन्योलता सिर्जना भइरहेका थिए। यस्ता चुनौतीका बीच पनि नवौं अधिवेशनलाई विधिसम्मत ढंगले सम्पन्न गर्न गराउन भुमिका निर्वाह गर्ने संघ आबद्ध सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यसैगरि अघाडी बढ्ने संघले बताएको छ।

कार्यक्रमलाई थप आकर्षक बनाउन नेपालबाट विशेषरूपमा आमन्त्रित चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटीले सांगीतिक प्रस्तुति दिएका थिए। शिवाकोटीका लोकप्रिय गीतहरूमा दर्शकहरू रमाइलो गर्दै नाचेका थिए। त्यस्तै, मलेसियामा रहेका स्थानीय नेपाली कलाकारहरूले पनि दमदार प्रस्तुति दिएर सांगीतिक माहोललाई रंगीन बनाएका थिए।
संघको २०२३-२०२५ कार्यकालको नेतृत्वमा रहेका केही पदाधिकारीहरू लगायत असन्तुष्ट अन्य सदस्यहरूको अधिवेशनमा उपस्थिति देखिएन। त्यस्तै, नेपाली राजदूतावास मलेसियाका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका थिएनन्।
यसैगरी प्रमुख अतिथि हरि भट्टराईले अधिवेशनलाई पूर्ण रूपमा वैध र विधिसम्मत रहेको दाबी गर्दै भने, केही समूहले अधिवेशनलाई अस्वीकार गरे पनि यो प्रक्रिया NRNA को विधानअनुसार नै अगाडि बढाइएको हो। असन्तुष्ट पक्ष आफैँ विधान अनुसार नचलेको आरोप लगाए ।




















