अध्यक्ष श्रेष्ठसहित नेताहरू भ्रष्टाचारमा मुछिएसँगै नाउपामा आन्तरिक किचलो छरपष्ट।

[ डीबि शर्मा / हिमालय टाइम्स  ] 

काठमाडौं := स्थापनाको तीन वर्षमै नागरिक उन्मुक्ति पार्टी (नाउपा) चरम विवादमा फसेको छ । गत चुनावअघि स्थापना भएर पश्चिम तराईंमा अनपेक्षित सफलता हात पारेको नाउपा अर्को निर्वाचन आउनुअघि नै गम्भीर आन्तरिक विवादमा फसेको हो। पार्टी स्थापनाको तीन वर्षमै अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरू भ्रष्टाचारमा मुछिएसँगै आन्तरिक किचलो छरपष्ट भएको हो । स्थापनाको डेढ/दुई वर्षमै नाउपामा विवाद देखिन थालेको थियो । पहिले अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवाद सतहमा आएको थियो । लामो विवाद मथ्थर भएको केही समयमै अध्यक्ष श्रेष्ठ घूस प्रकरणमा जोडिएपछि फेरि किचलो बढेको हो ।

नाउपा केन्द्रीय सदस्यहरूले बैठक बोलाउन माग गरिरहेका बेला अध्यक्ष श्रेष्ठले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुभएको छ । अध्यक्ष श्रेष्ठले साउन १० गतेको मितिमा पत्र लेखेर बास्तोलालाई कार्यबाहक अध्यक्ष तोकेको जानकारी केन्द्रीय कार्यसमिति, सबै प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिलाई गराउनुभएको हो । पोखरा महानगरपालिका-६ कास्कीका बास्तोलालाई कार्यबाहक अध्यक्ष तोक्नुअघि नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले बैठक बोलाउन श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिएका थिए । अध्यक्षले बैठक नबोलाए ११ गते दिउँसो केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने उनीहरूले चेतावनी दिएका थिए ।

तर, २४ घण्टाभित्र केन्द्रीय समिति बैठक आहृवान नगरेर अध्यक्ष श्रेष्ठले विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोक्नुभएको हो। केही दिनदेखि अस्वस्थ भएको र त्यसले पार्टीका दैनिक कार्य सञ्चालनमा असहजता भएको भन्दै बास्तोलालाई कार्यबहाकको जिम्मेवारी दिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा (४) अनुसार, पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ,’ उहाँले पार्टीका मातहत निकायलाई पठाएको पत्रमा भनिएको छ, ‘तपाईँले पार्टीको विधानको अधिनमा रही अध्यक्षको रूपमा सम्पूर्ण अधिकार तथा कर्तव्य निर्वाह गर्नुहुनेछ र पार्टीका गतिविधिलाई सफलतापूर्वक अगाडि बढाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

घूस काण्डमा मुछिएपछि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान अयोगले समेत वयान लिएको थियो । पूर्वभूमिसुधार मन्त्री श्रेष्ठले घूस मागेको प्रमाण फेला परेपछि अख्तियारले वयान लिएको हो । उहाँमाथि मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न र अर्को जग्गा प्रकरणमा बिचौलियासँग घूस लिएको आरोप छ । यही आरोपमा निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको थियो । भूमिसुधार मन्त्री बलराम अधिकारी पनि यो प्रकरणमा जोडिनुभएको छ । तर, एमालेबाटै मन्त्री हुनुभएका गुप्ताले अडियो बहिरिएसँगै राजीनामा दिए पनि अधिकारीले भने राजीनामा दिनुभएको छैन । रञ्जिताविरुद्धका प्रमाण पनि निवर्तमान मन्त्री गुप्ताको घूस अडियो रेकर्ड गरेका व्यक्तिबाटै खुलेको हो ।

एकपछि अर्को नेता भ्रष्टाचारमा मुछिए

भ्रष्टाचार प्रकरणमा मुछिने नाउपा अध्यक्ष श्रेष्ठ एक्लो भने होइन । नाउपाकै अन्त नेता पनि भ्रष्टाचार प्रकरणमा जोडिएका छन् । भ्रष्टाचार काण्डमै जोडिएपछि सुदूरपश्चिम सरकारबाट नाउपाका दुई मन्त्री लक्ष्मणकिशोर चौधरी र रामेश्वर चौधरीले पद नै गुमाइसकेका छन् । गत १९ असारमा रामेश्वर उद्योगमन्त्रीबाट बर्खास्तीमा पर्नुअघिसम्म नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सत्तामा निरन्तर थियो । उक्त घटनापछि मात्रै उसले सरकार छाडेको हो । सुरुमा घूस अडियो सार्वजनिक भएपछि प्रदेश सरकारमा उद्योग तथा वनमन्त्री रहेका लक्ष्मणकिशोरले गत १७ चैतमा राजीनामा दिनुपरेको थियो । उहाँले दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि पास गर्न काठ व्यवसायीसँग आर्थिक मोलमोलाई गरेको घटना बाहरिएको थियो । भ्रष्टाचार काण्ड र सत्तामा हुँदा प्रभावकारी काम गर्न नसक्दा नागरिक उन्मुक्ति गम्भीर प्रश्नको घेरामा परेको छ भने आन्तरिक विवादले संगठनमा क्षति व्यहोर्दै छ ।

अध्यक्ष पन्छिन पाउनुहुन्न, आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ : रेशम

नाउपाका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीले केन्द्रीय समितिको बैठकमा आएर आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने बताउनुभएको छ । घूस प्रकरणमा जोडिएपछि अध्यक्ष श्रेष्ठ भाग्न नपाउने उहाँको भनाइ छ । ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ,’ उहाँले भन्नुभएको छ, ‘मैले(रञ्जिता) बोलाएको बैठक होइन, वैधानिक होइन भनेर अध्यक्षजी पन्छिन पाउनुहुन्न । ओहो, साथीहरूले बैठक बोलाउनुभएछ, के कारणले बैठक बोलाउनुभएछ, उहाँले सोधीखोजी गर्नुपर्छ । उहाँ अध्यक्ष भइसके पछाडि हरेक सदस्य उहाँको परिवार हो । उहाँसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो ।’

अहिले उत्पन्न परिस्थितिको जिम्मेवार रञ्जिता नै भएको उहाँले बताउनुभयो । ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन, तपाईंको कारणले सिर्जना भए पनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास प्रयत्न त गरेकै छौ नि । तपाईं केन्द्रीय समिति बैठकमा आउनुपर्छ, स्पष्ट जवाफ दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘जनता अन्यौलमा छन् । के चाहन्छन् ? हाम्रो पार्टीका अध्यक्षलाई मुद्दा लाग्यो । खै त जवाफ ? एउटा मुखले मात्र बोलेर हुँदैन नि । केन्द्रीय समितिमा आएर तपाईंले आफ्नो भावना राख्नुभयो भने त भोलि लाख मुखले तपाईंको पक्षमा वा विपक्षमा कुरा गर्ला ।’ पार्टीलाई बन्धक नबनाउन र निकास दिन उहाँले सुझाव दिनुभएको छ ।

‘निराकरणको बाटो दिनुपर्छ । निकास दिनुपर्छ । पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन । यसको निकास तपाईंले नै दिनुपर्छ,’ उहाँले भन्नुभयो। चौधरीले आफू र श्रीमतीबीच भाँजो ल्याएर पार्टी विभाजन गर्न खोजिएको दाबीसमेत गर्नुभएको छ । ‘नागरिक उन्मुक्ति पार्टीबारे केही व्यक्तिले तारन्तार लेखिरहनुहुन्छ । म लेख्ने व्यक्तिबारे भन्दिनँ । तर, विषय, स्थिति र परिस्थिति स्पष्टै छ । उहाँ अन्य पार्टीको बारेमा लेख्नुहुन्न,’ उहाँले भन्नुभयो, ‘कांग्रेस, एमाले, माओवादी र अन्य पार्टीसँग मतलब छैन । जसरी पनि नागरिक उन्मुक्ति पार्टीलाई जोइपोइबीच भाँजो ल्याएर विभाजन गराउने उहाँले लक्ष्य लिनुभएको छ, कसम खानुभएको छ । यसको प्रतिवाद पार्टीको साथीहरूले गर्नुपर्छ ।’