गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने सत्तारूढ दल कांग्रेस र एमालेको निष्कर्ष।

काठमाडौं := कांग्रेस र एमालेका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखकसहितको बैठकले राजनीतिकरण गर्न खोजिएको विषयमा राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिने मनसाय व्यक्त गरेपनि प्रधानमन्त्री ओलीले यो गठबन्धनमाथिको आक्रमण भएकाले राजीनामाको कुरै नगर्न भनेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले लेखकको राजीनामा माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठक विपक्षीको विरोधले अवरुद्ध भएको थियो ।

बुधबारको बैठकमा पनि अवरोध जारी राख्ने विपक्षी दलहरूले बताएका छन् । बालुवाटार बैठकले बजेट अधिवेशन विशेष अवस्था रहेको भन्दै संसद्‌मा अवरोध खोल्ने वातावरण बनाउन विपक्षी दलहरूलाई आह्वान गरेको छ ।