पेटालिङजाया:= मलेसिया सेलाङ्गर पेटालिङजाया बान्दार उतामा हाईवेस्थित सुंगाई पेन्चाला टोल प्लाजा नजिकै आइतबार बिहान भएको सडक दुर्घटनामा एक बंगलादेशी पुरुषको मृत्यु भएको छ।
दुर्घटना त्यसबेला भयो जब ती मृतक व्यक्ति सवार मोटरसाइकल टोयोटा लेक्सस स्पोर्ट्स युटिलिटी भेइकल एसयुभीसँग ठोक्किएको थियो। सेलाङ्गोर दमकल तथा उद्धार विभागको सञ्चालन विभागका सहायक निर्देशक अहमद मुखलिस मुख्तारका अनुसार, उनीहरूको टोलीले बिहान ७:१५ बजे उद्दारका लागि आपतकालीन कल प्राप्त गरेको थियो।
“कुल ७ जना कर्मचारी र अधिकारीहरू दमन्सारा दमकल तथा उद्धार केन्द्रबाट आवश्यक उपकरणसहित लगभग ८ किलोमिटर टाढा रहेको घटनास्थलतर्फ तुरुन्तै पठाइयो,”उनले आइतबार जारी गरेको विज्ञप्तिमा बताएका छन्।
अहमद मुखलिसका अनुसार, बिहान करिब ७:२७ बजे घटनास्थलमा पुग्दा दमकल टोलीले मोटरसाइकल ८० प्रतिशत जलेर नष्ट भएको अवस्थामा फेला पारेको थियो। प्रारम्भिक अनुमानअनुसार, उक्त मोटरसाइकल एसयूभीसँग ठोक्किएर आगलागी भएको हो। दुर्घटनाको थप विवरण र मृतकको परिचय खुलाउन प्रहरी अनुसन्धान जारी रहेको छ।




















