भिजिट भिसा प्रकरण: मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको भन्दै बिज्ञप्ति जारी।

काठमाडौं := गृह मन्त्रालयले अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको हाे। गृह मन्त्रालयका सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको शंका भएकाे समाचारप्रति भनिएकाे छ, ‘यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं । साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।’

मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको विज्ञप्तिमा भनिएकाे छ ।

‘पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारवाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ । आयोगबाट हुने छानविन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ ।